पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् । उनी आफूलाई नाच्नमा समस्या हुने भएकाले कथा बुनिएको भिडियोमा काम गर्न मन लाग्ने बताउँछन् ।
उनले अभिनय गरेको ‘सुन साइँली’ गीतमा परदेशीको कथा भनिएको छ । यो गीत चर्चित भएपछि गौरवले अहिले लगातार म्यूजिक भिडियोमा काम गरिरहेका छन् । आजभोली फिल्मभन्दा भिडियोमा रस पसेको हो ? भन्ने फिल्मीखबरको प्रश्नमा उनी भन्छन्, ‘म एउटा कलाकार हुँ । म जहाँ आफ्नो कला देखाउने ठाउँ पाउँछु, त्यो गर्छु । म फिल्म वा म्यूजिक भिडियो भनेर भेदभाव गर्दिनँ ।’
फिल्ममा जमेका कलाकार म्यूजिक भिडियोमा देखिँदा सस्तो भएको टिप्पणी हुँदै आएको छ । तर, उनी यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । ‘म्यूजिक भिडियोमा काम गरेपछि कलाकार सस्तो हुने भन्ने कुरामा म विश्वास गर्दिनँ । मैले यी कुराहरु पढेर र सिकेर आएको मान्छे हुँ,’ उनी भन्छन्, ‘म फिल्म होस् वा सर्ट मुभी, जहाँ आफ्नो कला देखाउन पाउँछु, काम गर्न तयार हुन्छु ।’
म्यूजिक भिडियोमा कथा भए आफू सहर्ष काम गर्न राजी हुने उनको भनाई छ । उनी आफूलाई डान्सिङ नम्बरको गीत भने अफर नगर्न भिडियोका निर्देशकलाई आग्रह गर्छन् । ५ मिनेटको भिडियोमा कथा भनेर कुनै भूमिका निर्वाह गर्न सके दर्शकहरुलाई पनि हेर्न मज्जा आउने उनको तर्क छ । आजभोली आफूलाई इमोसनल गीतको भिडियोबाट अफर आउने गरेको गौरव बताउँछन् ।
हालै उनी अभिनीत ‘बाँचेको छु धन्न’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गौरवले मोडल आशा खड्कासँग अभिनय गरेका छन् । गीतमा चर्चित गायिका समिक्षा अधिकारी र गायक बिक्रम परियारको स्वर रहेको छ । गीतमा गौरवले वेटरको भूमिका निर्वाह गरेका छन्, जसमा उनको अभिनय मनछुने छ ।
फिल्म ‘साइँली’ पछि म्यूजिक भिडियोमा व्यस्त रहेका अभिनेता गौरव पहारीले केही समय अगाडि कमेडी फिल्म ‘हुतुतु’ साइन गरेका छन् । कोरोना महामारीपछि छायांकनमा जाने यो फिल्मलाई लिएर उनी निकै उत्साहित छन् । कोरोनाका कारण धरासायी बनेको फिल्म क्षेत्रलाई माथि उठाउन कलाकारदेखि प्राविधिकसम्मले पारिश्रमिक घटाएर फिल्ममा काम गर्नुपर्ने उनको सुझाव छ ।
गौरव आफू पनि पारिश्रमिक घटाउन तयार छन् । उनी भन्छन्, ‘मैले लकडाउनपछि जति पनि म्यूजिक भिडियोमा काम गरेँ, त्यसमा ठूलो पारिश्रमिक लिएको छैन । अब फिल्ममा पनि धेरै पारिश्रमिक डिमान्ड गर्दिनँ । तर, कलाकारले मात्र पारिश्रमिक घटाएर हुँदैन । अहिले कलाकारभन्दा बढी पारिश्रमिक प्राविधिकहरुले बुझ्छन् । उनीहरु पनि पारिश्रमिक कम गर्न तयार हुनुपर्छ ।’
हेर्नुहोस् गौरव अभिनीत पछिल्लो म्यूजिक भिडियो :-