निर्माण नहुँदैदेखि चर्चाको केन्द्रमा रहेको फिल्म ‘हुतुतु’ को कोरोनाको महामारीपछि छायांकन सुरु हुँदैछ । ‘प्रेमगीत’ को सिरिज निर्माण गर्दै आएको आशुसेन फिल्मस्ले पहिलो पटक पूर्ण कमेडी विषयवस्तुमा निर्माण गर्न लागेका कारण यो फिल्मप्रति सबैको चासो छ । त्यसमाथि फिल्मका लागि अनुबन्ध भएका पुरुष कलाकारको लामले ‘हुतुतु’ लाई निर्माण अगावै प्रतिक्षीत बनाएको छ ।
हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीले फिल्ममा अभिनय गर्दैछन् । कोरोनाका कारण ‘प्रेमगीत ३’ को प्रदर्शन अनिश्चितकालका लागि रोकिएपछि निर्माण टिमले ‘हुतुतु’ को प्रि-प्रोडक्सनको काम थालेको थियो । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । हालै स्क्रिप्टको फर्स्ट ड्राफ्ट सकिएको छ ।
फिल्मलाई छेतन गुरुङले निर्देशन गर्दै थिए । उनलाई निर्देशनमा निर्माता सन्तोष सेनले सघाउने सहमति भएको थियो । ‘प्रेमगीत ३’ पनि उनीहरुले मिलेर निर्देशन गरेका थिए । तर, गएको मंगलवार निर्देशक गुरुङको निधन भएपछि अब ‘हुतुतु’ को निर्देशन कसले गर्ला भन्ने चासो धेरैलाई छ । बुझिए अनुसार, अब निर्माता सेन आफैं फिल्मको निर्देशनको जिम्मेवारी उठाउँदैछन् ।
निर्देशक गुरुङको अन्त्येष्टिमा निर्माता सेनले फिल्मीखबरकर्मी मनिष अन्जानसँगको कुराकानीमा भनेका थिए, ‘छेतनजी ‘हुतुतु’ मैले नै निर्देशन गरोस् भन्ने चाहनुहुन्थ्यो । मेरै आग्रहमा उहाँ निर्देशन गर्न तयार हुनुभएको थियो । ‘प्रेमगीत ३’ मा भने उहाँको आग्रहमा म निर्देशक बनेको थिएँ । अब आफैं ‘हुतुतु’ निर्देशन गर्न सक्छु ।’ अहिले उनी फिल्मका लागि एक अभिनेत्रीको खोजीमा छन् ।