कोरोना भाइरसका कारण फिल्म निर्माण र प्रदर्शन रोकिएको ६ महिनाभन्दा बढी भइसकेको छ । सरकारले अन्य क्षेत्र सञ्चालनको अनुमति दिए पनि फिल्म क्षेत्र प्राथमिकतामा पर्न सकेको छैन । कोरोनाको संक्रमण थप भयावह भइरहेको अवस्थामा दशैंअघि फिल्म निर्माण र प्रदर्शन हुने सम्भावना टर्दै गएको छ । दशैंपछि फिल्म क्षेत्र पुरानै अवस्थामा फर्किनेमा धेरै आशावादी छन् ।

कोरोनाका कारण फिल्म क्षेत्रमा कुनै गतिविधि नहुँदा प्राविधिकहरुलाई आर्थिक संकट उत्पन्न भएको छ । कलाकारलाई भने एक्सन-कटको न्यास्रो लागेको छ । ६ महिनादेखि विना काम घरभित्रै सीमित हुनु पर्दा उनीहरुलाई छट्पटी भएको छ । अभिनेता प्रदीप खड्कालाई भने कोरोना महामारीपछि पाइपलाइनमा रहेका फिल्मको सेड्युल कसरी मिलाउने भन्ने चिन्ताले सताएको छ ।

स्थिति सामान्य भएको हुन्थ्यो भने उनी यतिबेला निर्देशक हेमराज विसीको फिल्मको समेत छायांकन पूरा गरिसकेका हुन्थे । तर, संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि उनी अभिनीत फिल्म ‘प्रेमगीत ३’ समेत प्रदर्शन हुन सकेको छैन । लकडाउनकै समयमा निर्देशक दिनेश राउतको एक फिल्म साइन गरेका उनले ‘प्रेमगीत’ टिमकै नयाँ फिल्म ‘हुतुतु’ मा पनि काम गर्दैछन् ।

सरकारले छायांकनको अनुमति दिएपछि पहिला कुन फिल्मको छायांकन सुरु गर्ने भन्नेमा उनी अन्योल छन् । किनकि, तिनै फिल्म छायांकनका लागि तयार छन् । अर्कोतिर, आफू अभिनीत फिल्म ‘प्रेमगीत ३’ प्रदर्शन हुन बाँकी छ । यो फिल्मको प्रचारका लागि पनि उनले करीब ३ महिना छुट्याउनु पर्ने हुन्छ । यो अवस्थामा समय व्यवस्थापन गर्न उनलाई ठूलो सकस पर्ने देखिन्छ ।

कोरोनाले धनाड्यदेखि श्रमिकसम्मको योजना भताभुङ्ग भएको छ । तर, अभिनेता प्रदीप खड्काले लक्ष्य नबदल्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना केही तस्विर शेयर गर्दै लेखेका छन्, ‘यदी योजनाले काम गरेन भने योजना बदल्नुहोस् तर लक्ष्य होइन ।’ लक्ष्य नबदलेको खण्डमा कुनै न कुनै दिन आफूले बनाएका योजना सफल हुने उनको विश्वास छ ।

तपाईको प्रतिक्रिया