२०७३ सालमा मण्डला थियटरमा सफलतापूर्वक मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म बन्ने भएको छ । करिब एक महिना मञ्चन भएको नाटकलाई सुलक्षण भारतीले लेखन र निर्देशन गरेका थिए भने सरीता गिरीको एकल अभिनय रहेको थियो । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागेको फिल्मलाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन् ।
केकी अधिकारी फिल्मसले निर्माण गर्ने फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहनेछन् । फिल्मका अन्य पात्रहरुका लागि आगामी साता अडिसन खुल्ला गरिने निर्देशक आचार्यले जानकारी दिएका छन् । उनले भने, ‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रि-प्रोडक्सन चरणमा छौं । चार महिनाको वर्कसपपछि फिल्मको छायांकन थाल्नेछौं ।’
‘बोक्सीको घर’ लाई वरिष्ठ रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्नेछन् भने कार्यकारी निर्माताको रुपमा विशाल भण्डारी रहेका छन् । फिल्म ‘कोहलपुर एक्सप्रेस’ र चर्चित टेलिभिजन कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा फिल्म ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो । बोक्सी हाम्रो समाजमा छ वा छैन भन्ने फिल्मले देखाउनेछ ।