नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर बिहीबारदेखि शुरू गरेको साताव्यापी शास्त्रीय संगीत सम्मेलनको दोस्रो दिन शुक्रबार प्रसिद्ध युवा खयाल गायक मनमोहन थपलिया र चर्चित युवा बाँसुरीवादक नगेन्द्रविक्रम राईले आ-आफ्ना विशिष्ट गायन तथा वादनबाट दर्शक/स्रोतालाई मन्त्रमुग्ध बनाए।

कार्यक्रमको आरम्भमा प्रसिद्ध संगीत गुरु तथा नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले नेपालका अधिकांश शास्त्रीय संगीतकर्मीहरूका गुरु नरराज ढकालप्रति समर्पित गरेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी शास्त्रीय संगीतको सातदिने आयोजना गरेर संगीत-नाट्य प्रज्ञा-प्रतिष्ठानले युगान्तकारी कार्य गरेको बताउनुभयो। अध्यक्ष गोपालीले यसैगरी वाद्यशिरोमणि गणेशलाल श्रेष्ठ, संगीतशिरोमणि चन्द्रराज शर्माजस्ता विभूतिहरूको सम्मान पनि यस किसिमका कार्यक्रम आयोजना गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभयो।

यसपूर्व साताव्यापी सम्मेलको शुभारम्भका दिन पिताद्वारा तयार पारिएको राग शुद्धकल्याणको बन्दिश गाएर शास्त्रीय संगीतका प्रसिद्ध साधक दाजुभाइ प्रभुराज ढकाल र प्रतीक ढकालले पिता संगीत प्रवीण नरराज ढकाललाई श्रद्धाञ्जलि दिएका थिए। प्रभु-प्रतीक दाजुभाइले बुवाको रचना, संगीत र स्वरमा रहेको गीत— के थिएँ म के भएँ पनि सुनाएका थिए। सो अवसरमा गायक प्रभुराज ढकालले आफ्नो रगतमै संगीत बगिरहेको उल्लेख गर्दै आफूहरू बाँचुञ्जेल नेपाल शास्त्रीय संगीतको विकासका निम्ति समर्पित रहने बताए। अर्का गायक प्रतीक ढकालले प्रज्ञा-प्रतिष्ठानले कोभिडको बेलामा पनि यसरी साताव्यापी कार्यक्रमको आयोजना गरेर शास्त्रीय संगीतलाई प्राणवायु भर्ने काम गरेको बताए।

प्रभु-प्रतीक दाजुभाइको जुगलबन्दीलाई तबलामा डंकन चौधरी र हारमोनियममा वसन्त उप्रतीले साथ दिएका थिए भने दोस्रो प्रस्तुतिमा रामकुमार अर्यालले सितारमा राग झिंझोटी प्रस्तुत गरेका थिए। उनलाई तबलामा परशुराम पौडेलले साथ दिएका थिए।

यसपूर्व कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल शास्त्रीय संगीत समाजका महासचिव गोकुल लिम्बूले संगीत प्रवीण ढकाल गुरुको स्मृतिका साथ यसरी सात दिनसम्म सिर्जना प्रस्तुति तथा रसास्वादनको अवसर पाउनु शास्त्रीय संगीतप्रेमीहरूका लागि सौभाग्यको कुरा भएको बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ ले शास्त्रीय संगीतको विकासका लागि प्रतिष्ठानले अनेक क्रियाकलापहरू गर्ने सोच राखेको उल्लेख गर्दै प्रतिष्ठान सबैको सल्लाह र साथबाट अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो।

प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभागका प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले शास्त्रीय संगीत समग्र संगीतको संस्कार भएको बताउँदै प्रस्तुति र प्रदर्शनजन्य क्रियाकलापबाटै संगीतको वास्तविक विकास हुने हुँदा अहिलेको समयमा सम्पूर्ण कलाकारहरूले आफ्नो उत्साहपूर्ण सहभागिताबाट शास्त्रीय संगीतको उन्नयनमा विवध माध्यमले पुय्राउँदै गरेको टेवाप्रति आभार प्रकट गर्नुभयो।

सो अवसरमा मिथिला नेपाल टेलिभिजनका प्रबन्ध निर्देशक हिराबहादुर थापाले यस्तो विशिष्ट कार्यक्रमको आयोजनामा सहकार्यको मौका दिएकोमा प्रज्ञा-प्रतिष्ठानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालमा शास्त्रीय संगितको विकासमा टेवा पुय्राउनका लागि भविष्यमा आफ्नो टेलिभिजनबाट विशेष कार्यक्रम थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मिथिला नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत भइरहेको उक्त कार्यक्रमको सञ्चालन शास्त्रीय संगीत फाँटका चर्चित युवाजोडी कुन्दन पाठक र जोनिशा पौडेलले गरिरहेका छन्।

कार्यक्रमअन्तर्गत शनिबार प्रसिद्ध ध्रुपद गायक विष्णुप्रसाद आचार्यको गायन तथा बरिष्ठ तबलावादक बदन मण्डलको तालवादन प्रस्तुति हुनेछ।

सम्मेलनअन्तर्गत शास्त्रीय गायनतर्फ प्रभुराज ढकाल र प्रतीक ढकालका साथै शिवराज पौडेल, विष्णुप्रसाद आचार्य, डा. सीता थापा, मनमोहन थपलिया, लाबनी चक्रबर्ती; सुरवादनतर्फ मोहनप्रसाद जोशी (जलतरङ्ग), रामकुमार अर्याल (सितार) सन्तोषभक्त श्रेष्ठ (इसराज), नगेन्द्र विक्रम राई (बाँसुरी), धनबहादुर गुरुङ (शहनाइ); ताल (तबला) वादनतर्फ डङ्कन दास चौधरी, बदन मण्डल र नृत्यतर्फ सुविमा श्रेष्ठ, स्वजन रघुवंशी जस्ता विशिष्ट कलाकारहरूको प्रस्तुति रहने छ

तपाईको प्रतिक्रिया