काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता सबैमा हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला नयाँ वर्षको शुभकामना सन्देश जारी गरेका पूर्वराजा शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम प्रति पनि संकेत गर्दै पूर्वराजा शाहले हरिद्वारबाट जारी गरेको शुभकामना सन्देशमा अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र परनिर्भरता त्याग्नुपर्ने आवश्यकता पनि औल्याएका छन् ।

हरेक नयाँ वर्षमा सुख, सम्मुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा रहे पनि समय वित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले सांकेतिक रुपमा राजनीतिक घटनाक्रम प्रति असन्तुष्टि जनाएका छन् ।

शाहले राजनीतिक दल, सरकार र नागरिकलाई विभिन्न सुझाव पनि दिएका छन् । नेपाललाई सबै मिलेर जोगाउनु पर्ने, सर्वसाधारणहरुको जीवनस्तर उकास्नुपर्नेमा जोड दिएका छन् । पूर्वराजा शाहले फुटेर होइन जुटेर अघि बढ्न आह्वान गरेका छन् ।

‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौं जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उद्देश्य हुनु पर्दछ, एउटै कामना हुनु पर्दछ,’ उनले भनेका छन् ।

पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु पर्नेमा शाहले जोड दिएका छन् । ‘देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ । पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्‍यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले देशलाई आफ्नै स्रोत शक्तिबाट आत्मनिर्भर बनाउनु पर्ने सुझाव पनि दिएका छन् । यिनै भावनाका साथ नयाँ वर्ष साँच्चिकै नयाँ रहोस् भन्ने कामना पूर्वराजा शाहले गरेका छन् । ‘नयाँ वर्षले वास्तवमै हामीहरुका शोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस्,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया