डा. रविन्द्र पाण्डे, जनस्वास्थ्यविद् ।
कोरोना भाइरसको संख्या दिनप्रतिदिन बढीरहेको छ । बुधवारसम्मको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ । त्यस्तै हालसम्म ३ हजार ४ सय ७५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ६१ हजार ५ सय ८८ छन् भने ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकले बताउँछ । होम आइसोलेसनमा रहनेको संख्या अत्याधिक भएकोले, घरमा बसेका संक्रमितले के गर्ने र के नगर्ने भन्नेबारे जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे (समीर) को सुझाव यस्तो छ ।

के गर्ने / के नगर्ने ?
– शरीरको तापक्रम समय–समयमा जाँचिरहने । १०० डिग्री भन्दा माथि ज्वरो छ भने पारासिटामोल खानुपर्छ । शरीर दुख्ने, टाउको दुख्ने जस्ता समस्या भएमा पनि पारासिटामोल खान सकिन्छ ।

– कोठाभित्र बस्दा संक्रमण अरुमा नफैलियोस् भनेर ढोका बन्द गर्नुपर्छ । तर, कोठामा हावा आवतजावत गर्नका लागि भेन्टिलेसन भएको कोठामा बस्नुपर्छ ।

– अक्सिमिटरबाट बेला–बेलामा अक्सिजनको लेभल नापिरहनुपर्छ । अक्सिजन लेभल ९४ भन्दा कम भयो भने केही बेर घोप्टो परेर सुत्नुपर्छ ।

– भिटामिन सी दिनमा २ पटक, जिंक २ पटक र भिटामिन डी हप्ताको १ पटक खानुपर्छ । लक्षणअनुसार पारासिटामोल, कफ सिरप पनि खान सकिन्छ ।

– अक्सिजनको स्तर जाँच नगरी अक्सिजन लिएर बस्नुहुँदैन । किनभने अक्सिजनले मात्र संक्रमण मुक्त भइने होइन ।

– घरमा एकजना संक्रमित भएमा सबैले परीक्षण गर्नुपर्छ । किनभने कसैलाई लक्षण नदेखिन पनि सक्छ ।

– खानाका साथै फलफूल, दूध, गेडागुडी, अण्डा, झोलिलो खानेकुराहरु प्रशस्त मात्रामा खानुपर्छ ।

– हल्का व्यायाम, योग र ध्यान गर्ने । पर्याप्त निन्द्रा तथा बिहानको घाम ताप्नुपर्छ ।

– मानसिक रुपमा स्वस्थ रहने । अनावश्यक आत्तिने तथा डराउने गर्नुहुँदैन ।

– पानीको बाफ लिँदा आराम महशुस हुनसक्छ । त्यसैले बिहान बेलुका तातो पानीको बाफ लिने ।

– मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, पिपला तथा कागतीको रस राखेको चिया पटक–पटक खानुपर्छ ।

– एक रातमै स्वास्थ्य अवस्था गम्भीर हुन सक्छ । त्यसैले गाह्रो भएपनि भोलि अस्पताल जान्छु भनेर बस्नुहुँदैन ।

(डा.पाण्डेसँग गरिएको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया