कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेसँगै विश्व पर्यटन क्षेत्रमध्ये एक चक्रिय अन्नपूर्ण पदमार्ग सुनसान बनेको छ । गत वर्ष कोरोना सङ्क्रमणको केही जोखिम कम भएसँगै विस्तारै केही पर्यटक आउन थालेपनि यतिबेला कोरोनाको दोस्रो लहरको उच्च जोखिम र निषेधाज्ञाले जारी भएपछि पदमार्ग झन् सुनसान बन्न पुगेको हो ।
कोरोना सङ्क्रमणको पहिलो लहर कम हुँदै गएपछि दैनिकजसो दुइदेखि १० जनासम्म पर्यटक आउने गरेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढ्न थालेपछि यतिबेला पर्यटक आगमन ठप्प भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । यस कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि आउन थालेका पर्यटक नआएपछि पर्यटक आउने अपेक्षामा बसेको पर्यटन व्यवसायीहरु हेरेको हेरै भएका छन् ।” पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा सन् २०२१ को हालसम्म ४७० जना मात्र पर्यटक आएको उक्त केन्द्रका पर्यटन सहायक गुरुङले जानकारी दिनुभयो ।
विगतमा अप्रिल महिनामा मात्र पाँच हजार पर्यटक आउने पदमार्गमा यतिबेला पर्यटक देखिन छोडेको उहाँको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका­४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले भन्नुभयो, “पर्यटक नआउँदा होटल व्यवसायीहरु मर्कामा पर्दै आएकामा दुई÷चार महिनाबाट मात्र केही पर्यटक आउन थालेपछि पर्यटकको चाप बढ्ने र आम्दानी पनि राम्रो होला भन्ने अपेक्षामा थियौँ, तर पुनः कोरोना सङ्क्रमणको दोस्रो लहरको जोखिम बढेपछि चिन्ताले सताएको छ ।”
यस क्षेत्रका होटल व्यवसायीको आम्दानीकै मुख्य स्रोत भनेकै पदमार्गमा आउने पर्यटक हो । पर्यटक नै नआएपछि व्यवसाय धान्ने त परकै कुरा, परिवारको जीवन धान्नलाई समेत समस्या पर्न थालेको उहाँको भनाइ छ । यस पदमार्गमा पर्ने सोही स्थानका पञ्चबहादुर गुरुङले भन्नुभयो, “अलिअलि पर्यटक पर्यटक आएपनि दुई÷चार हजार रुपैयाँको मुख देख्न पाइरहेको थियो, तर अहिले त एक रुपैयाँ देख्न पनि रहर हुन थालेको छ ।”
विगतमा दैनिक ५०÷६० हजार रुपैयाँ आम्दानी हुने गरेको थियो, यतिबेला आम्दानी शून्य नै हुँदा जीवन कसरी चलाउने भन्नेमा चिन्ता बढ्न थालेको उहाँको भनाइ छ । केही पर्यटन व्यवसायीले पर्यटक आगमन हुन थालेपछि होटल व्यवसायलाई थप व्यवस्थित गर्दै करौँडौ लगानी गरेर पर्यटक भित्र्याउन कम्मर कसेर लागेका थिए । उनीहरु यतिबेला पर्यटक थप्प भएपछि थप निराश भएका छन् । यस पदमार्गमा हजारौँ पर्यटन व्यवसायीहरु रहेका छन् । अधिकांश पर्यटन व्यवसायीले अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् ।
पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्चपहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई यस पदमार्गको अवलोकन भ्रमणमा आउने गर्दछन् । मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्घार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ ।
यस पदमार्गमा गत वर्ष अर्थात् सन् २०२० मा १ हजार ९७६ जना पर्यटक आएको धारापानीस्थित एक्याप केन्द्रले जनाएको छ । त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ जना पर्यटक, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक पदमार्गमा आएका थिए । सन् २०२० मा समेत कोरोनाको प्रभावले पर्यटक न्यून आएको बताइएको छ । अहिलेकै अवस्था रहेमा यो वर्ष पनि पर्यटकको आवागमन न्यून हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया