- कृपा भट्टराई

जेठ महिनाको त्यो चर्को घाम । सहिनसक्नु गर्मी । अनि त्यो गर्मी आजभन्दा भोलि झन्, भोलिभन्दा पर्सि झन् गर्दै बढ्ने क्रममा थियो । तर, यो मौसमी गर्मीभन्दा पनि बढी गर्मीचाहिँ मेरो घरभन्दा दुई घर पर सरिता आन्टीको घरमा थियो– एक वयष्क छोरी अनि भर्खर कक्षा ७ मा पढ्दै गरेको छोरा र उनीहरूकी आमाबीचको द्वन्द्वको ।

ती छोराछोरीका बाबु सरकारी जागिरे । नेपालीको कमाइअनुसार आम्दानी त ठीकै थियोे । घर–व्यवहार पनि राम्रै चलिरहेको थियो । आखिर महिनाको तीस हजार कमाउने जागिरे जो थिए । छोराछोरीलाई पनि यो विद्यालय राम्रो कि त्यो विद्यालय राम्रो भनी छानीछानी पढाए । अनि आफ्नो बजेट र औकातले भ्याइञ्जेल छोराछोरीका चाहना पूरा गर्दै गए ।

आखिरमा राम्रो विद्यालय भनेर छानेर छोराछोरी पढाएको विद्यालय त धनीहरू पढ्ने स्कुल पो परेछ । सरिता आन्टी पनि आफ्ना छोराछोरीलाई सकभर खासै काम लगाउँदिनथिन्, पढ्दिए मात्रै पुग्छ भन्ने सोच उनमा थियो । विचरा ती आन्टीलाई के थाहा, छोराछोरीले किताबी ज्ञानसँगै धनाढ्यको रहनसहन पनि धनाढ्यका छोराछोरीसँग सिक्छन् भनेर ।

सरकारी जागिरबाट आएको पैसा अलिअलि गरेर भए पनि बचाएर बच्चाहरूका लागि भनेर एउटा सानो टीभी किनेका थिए । एन्टिना हल्लाएर चलाउने त्यो टीभीमा छोराछोरीलाई भ्याकेसन कटाउन गाह्रो भयो रे भनेर डिसहोम पनि जोडिदिएका थिए । टीभीमा उनीहरूले बलिउड र हलिउडका कथा र रहनसहन हेर्न थाले । टीभीमा आउने फिल्म र टेलिसिरियल अनि फेसन शो देखेका ती छोराछोरी महँगामहँगा गहना, लुगाफाटोका अलावा विदेशी जीवनशैलीप्रति प्रभावित हुन थाले ।

छोराछोरीलाई राम्रो विद्यालय पढाउने, भ्याकेसन सजिलो बनाइदिने उनीहरूको त्यो प्रयासले त्यो घरमा ल्याएको गर्मी मेरो घरमा भन्दा चार गुणा बढी थियो । आज त्यो छोरी कहिले दिप्साको जस्तै ५ हजार पर्ने जुत्ता चाहियो भनेर झगडा गर्छे त कहिले कपाल हाइलाइट गर्न भन्दै ७ हजारका लागि रुन्छे । ती छोराछोरी मटेरियलिस्टिक लाइफले यति धेरै प्रभावित भए कि अब उनीहरूलाई टेलिभिजन र इन्टरनेटका विभिन्न साइटमा देखेका सबै खाले महँगा सामानहरू मात्रै चाहिने अवस्था आयो । अब त्यो छोरीलाई कसले कसरी बुझाइदियोस्– जति पर्ने जुत्ता भए पनि अन्ततः त्यसको काम भनेको भुइँको राफ अनि तापबाट जोगाउनु हो भनेर ।

सुनिन्छ, हिजोआज त छोरा पनि दिदीको पथ पछ्याउन थालेको छ रे । कहिले भिडियोगेमका लागि रुन्छ, त कहिले प्राञ्जलको जस्तै छुट्टै कोठा चहियो भन्छ रे । दुई कोठाको घरमा दुई दशकदेखि बस्दै आएका ती बाबुआमाले अब छोरालाई छुट्टै कोठा बनाइदिऊन् पनि कसरी ? नबनाइदिऊन् छोरो रोको दिनहुुँ कसरी हेर्नु ?

यसरी समय बित्दै जाँदा मौसम पनि बदलिएर हिजोआज चिसो हुन थालेको छ मेरो गाउँघरतिर । अनि हिजोआज सुन्न थालेकी छु– ती छोराछोरीको सम्बन्ध पनि चिसिँदै गएको छ रे बाबुआमासँग । हुन त छोराछोरीको पनि के दोष ? आज हाम्रो समाज र समयले फेरेको कोल्टो र समयसँगै हरेक इच्छा र चाहनाले मारेको फड्को यति परसम्म पुगेको छ कि हरेकमा झिलीमिली र देखावटी जिन्दगीको मोह बढेको छ ।

हिजाेआज प्रायः मानिसको चाहना सुखी र खुसी जीवनभन्दा पनि देखावटी र मटेरियलिस्टिक लाइफ भएको छ । नहोस् पनि किन, पछिल्लो समय हरेक फेसबुक र इन्स्टाग्राम वालहरूमा कसको जीवन ज्यादा राम्रो, सुखी र महँगो भन्ने विषयमा मौन रूपमा द्वन्द्व नै चलिरहेको हुन्छ । अनि तिनै सञ्जालमा प्रतियोगी बन्ने ती प्रतिनिधिपात्र, सरिता आन्टीका छोराछोरीको जस्तो बढ्दो चाहना । जहाँ त्यो चाहनाबीचको द्वन्द्वमा निर्णायक पनि आफैँ र विजेता पनि आफैँ घोषित गरिन्छ । अब यसमा गल्ती कसको ? मटेरियलिस्टिक लाइफ वा यसको चाहना राख्ने ती हरेक प्रतिनिधिपात्रको ?

तपाईको प्रतिक्रिया