काठमाडौँ- सोमबार सेयर बजार परिसूचक (नेप्से) ५५.८८ अंकले बढेको छ। २००७ बिन्दुबाट सुरु भएको बजार लगातार उकालो लाग्दै परिसूचक २०६५.८९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ।
परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने सुधार हुन सकेको छैन। आज २१५ कम्पनीको ६० लाख २६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड २ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार कारोबार भएकामध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ भने चार कम्पनीको मूल्य मात्र घटेको छ। आज १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका हिसाबले आज पनि शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। सोमबार शिवम २१ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
दोस्रो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ५५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ।
आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ। सोमबार विशेषगरी फाइनान्स, विकास बैंक, अन्य, जलविद्युत् र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण देखियो।










