काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’बाट साङ्गीतिक दुनियाँमा चर्चा कमाएकी गायिका रचना रिमालले छोटै समयमा आफ्नो सपना पूरा गर्न सफल भएकी छिन् ।

उक्त प्रतिस्पर्धाको उत्कृष्ट आठबाटै बाहिरिए पनि उनको गायन यात्राले भने उचाइ लिइरहेको छ । यसैबीच गीत गाएर नै उनले झापामा पक्की घर ठड्याउन सफल भइसकेकी छिन् ।

उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको जानकारी दिएकी छिन् । घर निर्माण सम्पन्नबारे आज शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले घर बनाउन सफल हुनाका साथै आफ्नो बाल्यकालको एउटा सपना पूरा गरेको उल्लेख गरेकी छिन् ।

आफ्ना बुवा–आमालाई एउटा पक्की घर बनाएर राख्ने सपना पूरा भएको उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन । तर, हजुरहरू सबैको माया र आर्शीवादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ ।’

उनले अगाडि लेखेकी छिन्, ‘चन्द्रगढी झापामा पुरानो घर भएको ठाँउमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको छ, बाबा–ममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आर्शीवाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रही सत्कर्म गर्ने छु ।’

माटोको गारो भएको पुरानो घर भत्काएर सोही ठाउँमा नयाँ घर बनाएको जानकारी उनले दिएकी छिन् । नयाँ घर बनेसँगै वरपर छर छिमेकको जस्तै उनीहरूको पनि पक्की घर भएको छ ।

त्यतिमात्र होइन उनको आमा–बुबाले घरबाहिर चटपटे बेच्न बनाएको टहरो पनि अहिले छैन । कमाइ खाने भाँडो अर्थात् अटो रिक्साको किस्ता तिर्न पनि बाँकी रहेन ।

नेपाल आइडलबाट बाहिरिए पनि उनले बितेको दुई वर्षको अवधिमा आठ सयभन्दा बढी गीतमा स्वर दिएकी छिन् । साथै देश विदेशको कार्यक्रममा पुग्न उनलाई भ्याइ नभ्याइ छ ।

तपाईको प्रतिक्रिया