काठमाडाैं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे निवास बिहीबार बसेकाे सचिवालय बैठकले प्रतिनिधि सभाका १ सय ६५ सिट र प्रदेश सभाका ३ सय ३० सिटका लागि सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल थालेकाे हाे ।

आगामी बैठकबाट मात्र उम्मेदवारकाे टुंगाे लगाइने एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयाे । ‘आजकाे बैठकमा प्रतिनिधि सभाका १ सय ६५ वटा सिटमा कोको उम्मेदवार हुन सक्छ भन्नेबारे प्रारम्भिक छलफल सुरु भएको छ, प्रदेश सभाको ३ सय ३० का सिटमा पनि सम्भावित उम्मेदवारबारे छलफल चलाएको छौँ, हेडक्वार्टरले परामर्श लिने काम गर्छ, आवश्यक र उपयुक्त समयमा उम्मेदवारको निर्णय हुन्छ,अर्काे सचिवालय बैठक बसेर टुंगाे लगाउँछ’- उहाँले भन्नुभयाे ।

उपमहासचिव गुरुङले उमेदवारबारे केन्द्रीय हेडक्वाटर र अध्यक्षबीच परामर्श गरेर निर्णय लिइने बताउनुभयाे । त्यसपछि असाेज २१ वा २२ गते सचिवालय बैठक बसेर उम्मेदवारकाे टुंगाे लगाउने उहाँले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया