संसद् भवनअगाडि आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई कीर्तिपुर अस्पतालमा आईसीयू मापदण्ड पालना नगरी भेट्न गएको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले सारमा आचार्यको मृत्युमाथि राजनीति नगर्न आग्रह गरेकी छन् । आफूले मानवताको नाताले भेट्न गएको उल्लेख गर्दै उनले आईसीयू मापदण्डको उल्लंघन नगरेको दाबी गरेकी छन् ।

कार्कीले आफूले आईसीयूमा आचार्यलाई भेट्न जाँदा मिडियालाई नलगेको र कसरी भिडियो खिचिएको हो थाहा नभएको जिकिर गरेकी छन् ।  उनले आचार्यले आफूसँग ‘बाँच्न चाहन्छु मलाई बचाउनुहोस्’ भनेर अनुनय गरेको पनि खुलाएकी छन् ।

ताेसिमाले फेसबुकमा राखेकाे प्रष्टीकरण जस्ताकाे त्यस्तै:

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई “ऊ चाँडै नै यो संसार छोड्दैछ” भन्ने थाहा भएरै उनका आँखाहरु सधैँका लागि बन्द हुनु अगावै, उनका बोलि सधैँको लागि रोकिनु अगावै… म उहाँलाई भेट्न पुगेको थिँए| भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ| धन्न मैले ढिला गरिनछु……… |

हामी भेट्न गएको प्रकृया/ विधिहरुलाई लिएर धेरै प्रश्न उठेकाले साथै केहि साथीले नेपाल मेडिकल काउन्सीलमा उजुरी समेत दिनुभएको रहेछ| त्यसैले जनताको प्रश्नको जवाफ दिन आवश्यक ठानेर यो लेख्दैछु….

———————————————

त्यो घटना सुन्ने बित्तिकै मैले उहाँको उपचारमा संलग्न डाक्टरलाई फोन गरे| उहाँ अझ होसमै हुनुभएको थाहा पाएपछी मैले म भित्रको मानवलाई रोक्न सकिन “म उहाँलाई भेट्न आउँछु है” भनि जानकारी दिएँ| बाटोमा जाँदा जाँदै समेत ड्युटीमा खटिनुभएको डाक्टरलाई फोन गरी स्वास्थ्य स्थिती बुझिरहेको थिए| पुग्ने बित्तिकै ड्युटिमा खटिनुभएको डाक्टर मलाई आई सी यू को ढोका सम्म लिन आउनुभयो| त्यो सम्वेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाईजर ले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु| कसले भिडियो लिनुभएको थियो कृपया पुरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनु अघि र पछि दुबै पटक हातमा स्यानिटाइजर लगाएको छु|

तपाईको प्रतिक्रिया