काठमाडौं । फागुन ५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘फूलबारी’को प्रवद्र्धनमा मुख्य कलाकारसहितको टोली देश दौडाहामा निस्किएको छ । विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतले देशका पाँच सहरमा प्रचारप्रसार गर्दै दर्शकलाई फिल्म हेर्न आग्रह गर्नेछन् ।

शुक्रबार बुटवलबाट सुरु भएको दौडाहा पोखरा, भरतपुर, इटहरी हुँदै बिर्तामोडमा पुगेर टुंगिनेछ । बुटवलको मणिमुकुन्द, सिद्धार्थ गौतम, न्यु होराइजन र कुँवरवर्ती कलेज तथा स्कुलमा प्रवद्र्धन कार्यक्रम भए । गायक कालीप्रसाद बाँस्कोटाले इभेन्टमा ‘माया रहेछ र’ गाएर स्वागत गरे ।

फिल्मले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम सुरु गरेको हो । स्थानीय गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरे ।

फिल्मका निर्माता मनिष ढकालका अनुसार सहरको जनसंख्याका आधारमा प्रचारका लागि कलेज चयन हुनेछन् । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक ठूलो संख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं,’ ढकालले भने ।

व्यवस्थापक पीभीईले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली फिल्म उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । रामबाबु गुरुङ निर्देशित फिल्ममा विपिन, प्रियंका र शिल्पासहित दयाहाङ राई, मनिष ढकाललगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया