काठमाडौं – अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधान अभिनित सिनेमा ‘गणपति’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने छ ।

सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश प्रस्तुत गरिएको छ । गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडी राखिएको छ । निर्देशक सबिन अधिकारीले सिनेमाले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए । कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बन्छ भने सोहि व्यक्तिलाई हाम्रै समाजले नरकीय व्यवहार गर्छ । त्यसकै वरपर गणपतिको कथा घुमेको उनको भनाई छ ।

सिनेमामा निर्देशनका अलवा लेखन पनि सबिन अधिकारीको नै रहेको छ । सिनेमामा मुकुन र मेनुकाका अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि सिनेमामा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । सिनेमामा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन् । ‘गणपति’मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने अभिनेता भुषालको दाबी छ ।

सिनेमाको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको सिनेमामा हरिबहादुर घलेको छायांकन रहेको छ । अनिस अधिकारीले शब्द रचना तथा संगीत दिएको सिनेमाका गीतमा अनिस अधिकारी र देवेन्द्र बब्लुले स्वर सुन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया