महोत्सवमा फिल्मका चर्चित कलाकारहरु पुग्दा दर्शकको भीड थामिनसक्नु हुन्छ । उनीहरुको एक झलक हेर्नकै लागि घन्टौं कुर्छन् । तर, त्यही भीड त्यही कलाकारको फिल्म प्रदर्शन हुँदा किन हलमा देखिँदैन ? यो अहिलेको सबैभन्दा सोचनीय विषय हो । यदि महोत्सवमा कलाकारका लागि देखिने दर्शकको भीड हलमा पनि देखिन्थ्यो भने सम्भवतः वर्षमा फ्लप फिल्म खोज्न नै गाह्रो पर्थ्यो ।

अभिनेता पल शाह केही दिनअघि रुकुम महोत्सवमा सहभागी हुन खलंगा पुगेका थिए । उनका लागि आयोजकले ओहोर-दोहोरका लागि हेलिकप्टर ‘बुक’ गरेका थिए । महोत्सवमा उनलाई हेर्न ३० हजारभन्दा बढी दर्शक उपस्थित थिए । तर, जेल जानुअघि उनका फिल्मलाई हलमा दर्शक अभाव हुने गर्थ्यो । ‘वीर विक्रम २’ यसको उदाहरण हो । अबको अवस्था कस्तो हुन्छ, त्यो हेर्न बाँकी छ ।

सोही महोत्सवमा तीन दिनअघि अभिनेता आर्यन सिग्देल पनि पुगेका थिए । उनलाई हेर्न पनि दर्शकको ठूलो भीड लागेको थियो । उनले सामाजिक सञ्जालमा सेअर गरेको तस्विरहरु हेर्दा १० हजारभन्दा बढी दर्शक महोत्सवमा उपस्थित भएको देखिन्छ । उनले महोत्सवमा केही गीतमा नृत्य समेत गरे । यसअघि पनि उनी केही महोत्सवमा पुग्दा दर्शकको ठूलो उपस्थिति देखिने गरेको थियो ।

तर, महोत्सवमा उनलाई हेर्न लाग्ने भीड हलमा भने देखिन सकेको छैन । यसैले त उनका पछिल्ला कुनै फिल्म सफल छैनन् । गत पुषमा प्रदर्शन भएको फिल्म ‘डिसेम्बर फल्स’प्रति उनलाई ठूलो आशा थियो । तर, फिल्मले दर्शक नै पाएन । एउटा कलाकारलाई महोत्सवमा देखिने भीडभन्दा फिल्म हेर्नका लागि हलमा लाग्ने भीडले अर्थ राख्छ । आर्यन भने महोत्सवकै भीडमा रमाएका छन् ।

तपाईको प्रतिक्रिया