एउटा सिंगो फिल्मलाई बोक्ने र फिल्मको माध्यमबाट नयाँ कुरा अभिव्यक्त गर्ने काम निर्देशकहरुले गर्छन् । निर्देशकहरुले फिल्ममा भनेका कुराले समाजमा ठूलो प्रभाव पार्छ । यसकारण, उनीहरुले समाजका हरेक पाटोहरुको बिषयमा बोल्नेपर्छ, आवाज उठाउनुपर्छ ।

तर, फिल्मको माध्यमबाट समाज, देश र विश्व बोल्ने निर्देशकहरु आफ्नै मनमा गुम्सिएका बिचारहरु भने बोल्न निरिह देखिए । शनिबार सम्पन्न भएको निर्देशक समाजको निर्वाचनमा देखिएको चरम राजनीतिले उनीहरुको मनमा ठूलो आक्रोश भरिएको थियो ।

इन्टरटेनमेन्ट खवर डट कमसँगको अनौपचारिक कुराकानीमा उनीहरुले आक्रोश पोखे, तर औपचारिक रुपमा बोल्न तयार भएनन् ।

निर्देशक समाजमा चरम गुटबन्दी र राजनीति भएको भन्दै पूर्व अध्यक्ष सुचित्रा श्रेष्ठ आशु बगाउँदै निर्वाचन परिसरबाट बाहिरिइन् । समाजकै पूर्व अध्यक्ष रमेश बुढाथोकीलाई सुचित्राको पक्षमा भोट मागेको भन्दै समाज भन्दा बाहिरका एक फिल्मीकर्मीले ठूलो स्वर गरे । तर, यो बिषयमा कुराकानी गर्न खोज्दा बुढाथोकीले पनि मुख खोल्न मानेनन् । बरु, उनले यो सामान्य कुरा भएको भन्दै टारे ।

निर्देशक समाजमै सचिव पदमा उठ्ने भन्दै पोष्टर समेत सार्वजनिक गरेका निर्देशक बसन्त निरौलाले अन्तिममा उम्मेदवारी नै दिएनन् । उनले, सामाजिक संजालमा लेखेका छन्–‘जहिलसम्म कुनै पनि संस्थामा संस्था भन्दा बाहिरी मान्छेको हाबी हुन्छ, त्यो संस्थाबाट आशा गर्नु बेकार छ । सधै एउटा कुनामा लाने वा बन्द कोठामा बोलाउने अनी भाई यो पद हनै यो पदमा जान पर्यो । भोली दाईहरु चाहिदैन भन्दै संझाएको जस्तो गरि धम्की दिने । के त्यो संस्थामा धेरै फिल्म निर्देशन गरेको मान्छे जाने अधिकार छैन ?’

बसन्तको जस्तो स्वर अन्य थुप्रै निर्देशकहरुको पनि थियो । बौद्धिक व्यक्तिहरुको संस्था भनेर चिनिएको निर्देशक समाज बाहिरी व्यक्तिहरुको हालिमुहालीका कारण आफै पीडित देखियो । तर, यो बिषयमा कसैले पनि मुख खोलेर बोल्ने हिम्मत भने गरेनन् ।

तपाईको प्रतिक्रिया