काठमाडौं, १४ चैत
गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो ।
काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन गरिएको थियो । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाउँदा आएको समस्यामा केन्द्रित थियो । ती युवतीले प्यासी भिक्षु आनन्तलाई पानी खुवाएपछि उनकी आमाले छोरीबाट अनर्थ भएको बताउँछिन् । तर ती युवती पानी खुवाएपछि भिक्षु आनन्त प्रति सम्मोहित हुन्छिन् । जुन आमालाई उचित लाग्दैन । त्यो घटना देखेर आमाले तान्त्रिक विधाबाट भिक्षुलाई बोलाएर भिक्षु प्रति छोरीको सम्मोहन छुटाउँछिन् । सोही क्रममा भिक्षुको आशीर्वादले ती युवती सम्मोहन मुक्त हुन्छिन् । उनको जीवन फेरी सामान्य रुपमा चल्छ भने भिक्षु आफ्नै देश दर्शनमा फर्कन्छन् ।
नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गरेका थिए । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराज पोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी थिए भने गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली थिए ।
महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेला उनको जीवनी, दर्शन र सन्देशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन बुद्ध थिएटर फेस्टिवल आयोजना हुनु गौरवको विषय भएको बताए ।
समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताए । ‘बुद्ध दर्शनका अनुयायीहरू विश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भने ।
फेस्टिवल निर्देशक पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटीई)को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहा अयुवद्वारा प्रेषित सन्देश वाचन गरेका सुनाए । सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गरेकी थिइन् ।
चैत १७ गतेसम्म चल्ने महोत्सबको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सब दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भईरहेको छ ।
यो महोत्सबमा बुधबार निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित नाटक ‘पताक्षर’,  बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो ।

तपाईको प्रतिक्रिया