काठमाडौं, १७ बैशाख
हाल बेलायतमा बस्दै आएकी मिसेस नेपाल युनिभर्स शन्नी शाहीले अन्तराष्ट्रिय ब्युटी पेजेन्टमा सफलता हाँसिल गरेकी छिन् । केही महिना अघि मिसेस नेपाल युनिभर्सल २०२२ ताज जितेपछि उनी हालै बुल्गेरियामा सम्पन्न मिसेस युनिभर्स २०२२ मा नेपालको तर्फबाट सहभागी भएकी थिईन् ।
विवाहित महिलाहरुको सोही अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यी सुन्दरीले ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि जितेकी हुन् । उनी नेपालको प्रतिनिधित्व गर्दै सो सौन्दर्य प्रतियोगितामा सहभागी भएकी हुन् । ४० औं मिसेस युनिभर्स २०२२ मा १२० देशका महिलाहरु प्रतिस्पर्धामा उत्रिएका थिए । बिजेता सहित एक दर्जन उपाधि थिए । जसमा नेपालकी शन्नीले ‘मिसेस युनिभर्स लोयल २०२२’को टाईटल जितेकी हुन् । मिसेसहरुबाट नेपालले यतीठुलो उपाधि जितेको यो नै पहिलो भएको उनको कथन छ ।
बेलायतबाटै उनले मिसेस युनिभर्स २०२२ मा सहभागी हुने अबसर पाईन्,‘शिर्ष उपाधि नै जित्ने तयारीका साथ म प्रतिस्पर्धामा उत्रिएको थिएँ । शिर्ष नभए पनि एउटा टाईटल मिसेस युनिभर्स लोयल २०२२ जितेकी छु र नेपाललाई मिसेस युनिभर्सको स्टेजमा चिनाएकी छु ।’ शन्नीले भनिन् ।
अन्तराष्ट्रिय उपाधि चुमेपछि बेलायतबाट यतिबेला काठमाडौं आएकी उनी नेपाल राष्ट्रिय खड्गी समाज, भमुलु अजिमा परिवार, शिवम बाँसुरी खलबाट सम्मानित पनि भएकी छिन् ।
लन्डन फेशन होमले आयोजना गरेको मिसेस नेपाल युनिभर्समा १७ जनालाई उछिनेर शन्नीले शिर्ष उपाधि जितेकी थिईन् । अहिले भने मिसेस युनिभर्समा ‘मिसेस युनिभर्स लोयल २०२२’को उपाधि चुमेकी हुन् । काठमाडौंको असनमा जन्मिएकी उनी ब्युटी एक्सपर्ट पनि हुन् । उनको लन्डनमा व्युटी सम्बन्धि व्यबसाय छ । दुई छोरीकी आमा शन्नी विवाह पछि पनि महिलाहरुले आफुले चाहेको सफलता हाँसिल गर्न सक्छन भन्छिन् । उनी आफु मनोविज्ञानको विज्ञ भएकाले उनले मानसिक स्वास्थ्य क्षेत्रमा पनि काम गर्दै आएकी छिन् ।

तपाईको प्रतिक्रिया