अचेल फिल्म बनाउनभन्दा हलमा दर्शक तान्न महाभारत छ । विस्फोटक प्रचार गरिएका फिल्म समेत दर्शक अभावले छट्पटिएका छन् । दर्शकको खल्तीबाट पैसा निकाल्न कहाँ सजिलो छ र ? यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । तर, केही मेकरहरु फिल्मभन्दा फण्डामा विश्वास गर्छन् । कहिले लभ अफेयर त कहिले रोनाधाना । तर, अहिले यस्ता फण्डा हदभन्दा सस्ता भैसके ।

निर्माता तथा कलाकार नवल खड्का फण्डा निकाल्ने मामलामा अनुभवी पात्र हुन् । एउटा सानो के विषय पाउनुपर्छ उनी तिललाई पहाड बनाएर मिडियाबाजीमा उत्रन्छन् । तात्तातो उदाहरण फिल्म ‘काँडेतार’ हो । फिल्मको केही संवादमा बिप हाल्न र केही दृश्य हटाउन सेन्सर बोर्डले गरेको आग्रहलाई उनले ठूलो फण्डा बनाइरहेका छन् । र, भोकनिन्द्रा नभनि मिडियाबाजी गरिरहेका छन् ।

केही संवाद र दृश्यमा आपत्ति जनाउँदै सेन्सर बोर्डले सटिर्फिकेट नदिएपछि अदालत जाने चेतावनी दिँदै हिँडेका नवलले मंगलबार राजधानीमा नेतादेखि राजनीतिक विश्लेषकसम्मलाई डाकेर सेन्सर बोर्डविरुद्ध पत्रकार सम्मेलन नै गरे । सोही दिन उनी भाइरल पुण्य गौतमसँग एक टेलिभिजनमा बहस गर्न समेत पुगे । उनी सेन्सरले फिल्म रोकेको विषयलाई अझै उछाल्न खोजिरहेका छन् ।

बोल्नेको पिठो विक्छ भन्ने राम्रैसँग बुझेका छन् नवलले । यसैले उनी फिल्मलाई हुनसक्ने फाइदाका लागि सेन्सर बोर्डविरुद्ध बोलेर तत्काल रोकिने पक्षमा छैनन् । नवल निकट फिल्मकर्मीका अनुसार, उनी सेन्सरले फिल्म रोकोस् नै भन्ने चाहन्थे । र, यो विषयलाई उछालेर फिल्मको प्रचार गर्ने उनको उद्देश्य थियो । उनलाई के खोज्छस् कानो आँखो भैहाल्यो । अहिले उनी यसैमा व्यस्त छन् ।

सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य नवल खड्काले गरिरहेको प्रचारबाजी आवश्यक नरहेको तर्क गर्छन् । फिल्ममा केही शब्द अरु देशको आन्तरिक मामलामा दख्खल पुग्ने खालको भएकाले त्यसलाई सच्चाउन सेन्सरले आग्रह गरेको उनी बताउँछन् । ‘केही दृश्य चाहिँ हटाउनु नै पर्ने छ । केहीमा बिप हाल्नुपर्ने छ । नीति र ऐनमा राख्न नपाइने भनेको चिज त राख्न पाइएन नि,’ उनले भने ।

फिल्ममा बिप हाल्नुपर्ने र हटाउनु पर्ने दृश्य दुई मिनेटको पनि नरहेको उनको भनाई छ । ‘उहाँलाई केही सल्लाह र केही निर्देशन दिएका छौं । उहाँ सुखी नै भएर जानुभएको थियो,’ ऋषिराज भन्छन्, ‘अहिले उहाँ जसरी प्रस्तुत भैरहनुभएको छ त्यो आवश्यक नै थिएन । उहाँ आफैंले नीति र ऐन हेर्न भयो भने पनि बुझ्नु हुन्छ । उहाँ निर्माता पनि हुनुभएकाले प्रचार-प्रसार गर्न पाउनुभएको छ ।’

नवल चर्चाको कतिसम्म भोका छन् भन्ने कुरा फिल्म ‘प्रेमगीत ३’को हिन्दी डबको विषयमा दिएको अभिव्यक्तिबाट पनि थाहा गर्छ । उनले यो फिल्मको टिमलाई राष्ट्रघाती र देशद्रोही भनेका थिए । यो फिल्मविरुद्ध अन्तर्वार्ता दिन समेत उनलाई भ्याइनभ्याइ थियो । उनी अहिले चलचित्र निर्माता संघका अध्यक्ष हुन् । तर, उनको स्वभाव र शैलीले अध्यक्ष पदको गरिमाकै खिल्ली उडाइरहेको छ ।

तपाईको प्रतिक्रिया