काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीत ‘अलि अलि’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्।
जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र कामना फगामी मगर बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘बेजिला फिल्म्स’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरन्याशनल २०१० का विजेता समेत हुन्। स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले चर्चित अभिनेत्री नम्रता श्रेष्ठ , दिया मास्के , विनिता बरालसंग सहकार्य गरिसकेका छन्। नेपाली चलचित्र ‘डु यु लभ मी’ मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिसकेका छन। थुप्रै चर्चित गायकहरुको भिडियोहरुमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन्।

 

तपाईको प्रतिक्रिया