- रोशन पोखरेल

काठमाडौं । अन्ततः नेपाली फिल्म ‘परस्त्री’लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ । ६ वटा दृश्यमा परिमार्जन गरेपछि फिल्म सेन्सर पास भएको पटकथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्ममा प्रयुक्त हिंसा र चुम्बनका दृश्यमा आपत्ति जनाउँदै बोर्डले केही दिनअघि सच्याएर ल्याउन भनेको थियो ।

‘दुवै पक्षको समझदारीमा ती ६ दृश्य परिमार्जन गरिएपछि बोर्डले प्रदर्शन अनुमति दिएको छ,’ खनालले अनलाइनखबरसँग भने । उनका अनुसार फिल्मको लम्बाइ दुई घण्टा तय भएको छ । डीएस डिजिटलले निर्माण गरेको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

सेन्सर पास भएसँगै फिल्मले प्यारेन्टल गाइड (पीजी) प्रमाणपत्र प्राप्त गरेको छ । फिल्मको पोस्टरदेखि ट्रेलरसम्मै अन्तरंग दृश्य समावेश थिए । शीर्ष भूमिकामा रहेकी अभिनेत्री शिल्पा मास्केले सेन्सर बोर्ड नेपाली फिल्मप्रति पूर्वाग्रही भएको आरोप पनि लगाएकी थिइन् ।

यो फिल्म असार १५ गते रिलिजको तयारीमा छ ।

तपाईको प्रतिक्रिया