राजेश थापा नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । विशेष गरि लामो समय देखी आधुनिक संगीतको बजारमा चर्चामा रहेका र व्यस्त संगीतकारहरुको नाम लिनुपर्दा राजेश थापाको नाम अग्र लहरमा आउछ । संगीतलाई मुल पेशा बनाएर क्रियाशिल रहेका थोरै व्यावसायिक संगीतकारहरु मध्येका एक थापा सबै शैली र प्रकृतिका संगीतमा उतिकै दखल राख्दछन । होहल्ला र प्रचारबाजीमा खासै विश्वास नराख्ने थापा सदैव एउटै रफ्तारमा संगीत सिर्जनामा व्यस्त भैरहने असली साधकको रुपमा परिचित छन । काभ्रे जिल्लाको बेथानचोक-३, साविकको ढुखर्क गा वि स- ४ मा जन्मिएर लामो समय देखी काठ्माडौलाई कर्मथलो बनाउदै आएका संगीतकार थापाले नेपालको त्रि वि परिक्षा वोर्ड तथा प्रयाग संगीत समिती इलाहावाद भारत गरि दुई ठाउँबाट सङ्गीतको औपचारिक अध्ययन गरेका छन । यी लगायत अन्य थुप्रै निकाय र संस्थाहरुमा संगीत अध्ययनलाई निरन्तरता दिएबाट पनि संगीतकार राजेश थापाको आफ्नो विधा प्रति अनन्य झुकाव , लामो र सफल यात्राको दृढ संकल्प अनि लगनशिलता रहेको कुरा पुष्टि हुन्छ । उनले विगत दुई दशकदेखि धैर्यताका साथ गरेको अनवरत साधनाको प्रतिफल नै हो आजको उनको व्यस्तता र लोकप्रियता ।
वि.सं. २०५७ सालमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड भएको ‘लौ न लडे नि’ बोलको गीत इन्दिरा गुरुङ र खेम क्षेत्रीको आवाजमा संगीत भरेर रेकर्डिङ यात्रा प्रारम्भ गरेका थापाले त्यसपछी आफनो अध्ययन र साधनाको लागि केही समय उक्त कर्मबाट विश्राम जस्तै लिए । केही समयको अन्तराल पछि नजर , मुटु , केही काँडा केही फूल , सगुन, अनुपम अटल , आफनै छायाँले , अनुराग लगायत दजनौं एकल संगीत र सयौं फुटकर गीतहरु निरन्तर नेपाली संगीतलाई उपहार दिएर विर्सन नसक्ने गुण लगाएका थापाले संगीत सिर्जना गरेका राष्ट्रिय, लोक, आधुनिक, पप, बाल गीत आदि गरेर पाँच सयभन्दा बढी गीतहरु नेपाली संगीत बजारमा रहेका छन ।
संगीत कर्म सगैं राजधानीका नाम चलेका विभिन्न आधा दर्जन शैक्षिक संस्थाहरुमा अध्यापन समेत गर्दै आएका उनी विभिन्न समयमा महत्वपुर्ण राष्ट्रिय सम्मानहरुद्धारा सम्मानित भएका छन । ति मध्ये बिन्धवासिनी म्युजिक अवार्ड ३ पटक, स्टार इन्टरनेशनल अवार्ड , म्युजिक खवर म्युजिक अवार्ड , वोष्टर इन्टरटेनमेन्ट अवार्ड , निम अवार्ड , काव्य म्युजिक अवार्ड , बेथानचोक बर्ष व्यक्ति सम्मान , रोयल म्युजिक सम्मान , साहित्य सरोवर सम्मान , जिवन्त नेपाल सम्मान आदि प्रमुख हुन । आफूलाई सधै व्यस्त राख्न रुचाउने थापा संगीतकारहरुको सस्था संगीतकार संघ नेपालको वर्तमान कोषाध्यक्ष पनि हुन ।
सतही हल्ला र चाकडी चाप्लुसीदेखि सदैव टाढा रहन रुचाउने एक स्वाभिमानी संगीतकारको रुपमा स्थापित थापाको वुझाईमा गीतको मुटु भनेको नै शब्द हो । संगीत र गायन क्रमश: दोश्रो र तेस्रो चरणमा आउने विषय हुन । उनको अनुभवमा गीत कस्तो बन्ने भन्ने कुरा शब्दमै निर्भर हुन्छ । संगीत र गायनले त्यसमा भ्यालु एड गर्ने हो । कुनै गीतको शब्द निकै शक्तिशाली हुने र हेर्ने वितिकै संगीतको ढाँचा बनिसक्ने उनी बताउँछन । जसको ज्वलन्त उदाहरण राम कृष्ण ढकालको १५ औं गीति एल्बम आवरणको निर्मित रमेश विजीको शब्दमा उनले तयार गरेको संगीत ‘म हुरीमा दियो जलेको देख्छु’ गीतलाई लिन आग्रह गर्दछन जुन गीतलाई सुगम संगीतको विधामा सदावहार संगीतको रुपमा हामी चिन्दछौ । सिर्जनामा गुणस्तर माथी विश्वास गर्ने संगीतकार राजेश थापाले नाम चलेका,चल्दै गरेका स्थापित अग्रज , अनुज र समकालिन सवै जसो गायक गायिका तथा रचनाकारहरु संग काम गरेका छन ।यसरी निरन्तर यही रफतारमा गुणस्तरलाई कायम राख्दै संगीतकार राजेश थापाले निसन्देह नेपाली संगीतको क्षेत्रमा एक गर्विलो इतिहास बनाएका छन ।