चितवन– बागमती प्रदेशमा १ हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले चितवनमा आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्याङ्कअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित ४ हजार ८८६ जना रहेका छन्। मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई आधार मान्ने हो भने १०० मा १ जनामा गरी करिब ३ लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ।

१ जना महिला बराबर ४ जना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए। उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा ३२८, पहाडमा २ हजार २२९, तराईमा २ हजार ३२९ जनामा यो समस्या रहेको छ।’ अटिजमको समस्या गाउँमा भन्दा शहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो। गाउँमा १ हजार ७२८ र शहरमा ३ हजार १५८ जनामा यो समस्या देखिएको तथ्याङ्कमा उल्लेख छ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभइ समस्या हो। नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए। उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ।’

नेपालमा रहेका अपाङ्गहरुमध्ये ०.८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए। यो समस्या वंशाणुगत, वातावरण र सङ्क्रमण्का कारणले हुने गर्दछ। यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनर्स्थापनाले सुधार गर्न सकिने जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताए। यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्याङ्क सङ्कलनमा सहज हुने उनको भनाइ थियो। गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया