विराटनगर – विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट गोल्डकप सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कोइरालाले विराट गोल्डकप विराटनगरको शान भएकाले सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गोल्डकप सफल बनाउन पत्रकारहरुको विशेष भूमिका हुने भएकाले प्रचारप्रसार गरेर सहयोग गर्न आग्रहसमेत गर्नुभयो । महेन्द्र गोल्डकप हुँदै विराट गोल्डकपसम्म आइपुग्दा धेरै नै आरोहअवरोह पार गरेको भन्दै मेयर कोइरालाले गोल्डकप असफल हुँदा विराटनगर नै असफल हुने तर्क गर्नुभयो । विराटनगरको नामसित जोडिएको प्रतियोगितालाई भव्य रुपमा सफल बनाउने दायित्व सबैको भएको उहाँको भनाइ थियो । “विराट गोल्डकप विराटनगरको गौरव पनि हो । यसलाई सफल बनाउने दायित्व हामी सबैको हो,” उहाँले भन्नुभयो ।
विराट गोल्डकप यही चैत १५ देखि २४ गतेसम्म शहीद रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगितामा भुटान, भारत र नेपालका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष किशोर शाहीले जानकारी दिनुभयो । प्रतियोगिता डे नाइट हुनेछ । प्रतियोगिताको पुरस्कार राशि भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले गत वर्ष २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको आयोजकले जनाएको छ । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२–०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । गत वर्ष विराटनगर फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो भने भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।