काठमाडौँ– भारतीय हास्यकलाकार कपिल शर्मा ‘द ग्रेट इन्डियन कपिल शो’ लिएर आउँदैछन् । टिमका पुराना सदस्य सुनील ग्रोभर (डा. गुलाटी)को पुनरागमनले दर्शक उत्सुक छन् ।

शोको ट्रेलर सार्वजनिक भइसकेको छ । यस पटक भने शो टेलिभिजनबाट नभइ ओटीटीबाट प्रसारण हुने भएको छ । सुनीलको पुनरागमनसँगै जजमा नवजोतसिंह सिद्दुलाई हेर्ने दर्शकको चाहना भने पूरा नहुने भएको छ । जजमा अर्चना पुरन सिंह नै तय भएको छ ।

अर्चना तीनै जज हुन् जो सिद्दु राजनीतिक कारणले सोबाट निकालिएपछि उनले स्थान पाएकी थिइन् । कमजोर ‘जोक’मा चर्को हाँसोका कारण उनी आलोचितसमेत भएकी थिइन् ।

उनले यसबारे मुख खोलेकी थिइन् । नायिकाका रुपमा चर्चित हुने इच्छा भए पनि आफू सोच्दै नसोचेको हाँसोका कारण चर्चित बनेको उनको भनाइ छ । हाँस्ने कामले नै पैसा कमाउने बताउँदै उनी ठट्टा गर्छिन्, ‘मसँग संसारकै सबैभन्दा राम्रो काम छ । म प्रायः मुस्कुराउँदै बैंक जान्छु ।’

कमजोर जोकमा चर्को हाँसोको दोष भने उनले भिडियो सम्पादकलाई दिइन् । सो कारणले दर्शकबाट विश्वास गुमाएको र आलोचनाको शिकार हुनुपरेको उनले बताइन् ।

उनी थप्छिन्, ‘धेरै पटक मानिसहरूले मलाई कमजोर जोकमा चर्को स्वरमा कसरी हाँसेको भनेर सोध्ने गर्थे । तर त्यसलाई सम्पादन गरिएको थियो । शोका सम्पादकले नराम्रो मजाकमा पनि मेरो हाँसो थप्ने गर्दथे ।’

यद्यपि आफू सशक्त जोकमा मात्रै खुलेर हाँस्ने उनले स्पष्टीकरण दिइन् । आगामी दिनमा पनि आफ्नो यही जिम्मेवारीलाई निरन्तरता दिने उनले प्रतिबद्धतासमेत जनाइन् ।

तपाईको प्रतिक्रिया