काठमाडौं । नेपाली संगीत र स्टेज प्रस्तुतिलाई नयाँ उचाइमा पुर्‍याउँदै आएका लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्यान्डले यसपटक कुनै पनि धर्म वा संस्कृतिलाई प्रत्यक्ष रूपमा नछोई आफ्नो स्टेज कन्सर्टका लागि एक बिल्कुलै नयाँ प्रस्तुति ‘श्वेत र काल’ सार्वजनिक गरेका छन् ।
यसअघि लाखे ,झाँक्री, पुलुकिसी, कुमारीजस्ता सांस्कृतिक पात्रहरू तथा जातीय बाजासहितको नृत्य–प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिचानलाई सम्मानपूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउँदै आएका उनीहरूले यसपटक पूर्ण रूपमा फरक, नयाँ र सिर्जनात्मक अवधारणा प्रस्तुत गरेका हुन् ।

‘श्वेत र काल’ नामक यस नयाँ कोरियोग्राफी कुनै पनि धर्म वा संस्कृतिसँग सम्बन्धित छैन। यो मानव जीवनसँग जोडिएका सकारात्मक र नकारात्मक ऊर्जाका दुई पाटालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने एक सार्वभौमिक अवधारणामा आधारित छ, जसलाई अन्तर्राष्ट्रिय दर्शकले पनि सजिलै बुझ्न सक्नेछन्।
यस प्रस्तुतिमा मुखुण्डो लगाएका नृत्यकारहरूद्वारा सकारात्मक र नकारात्मक ऊर्जाको कथा नृत्यमार्फत व्यक्त गर्दै राष्ट्रिय झण्डा, जातीय झ्याली बाजा र आकर्षक फायरवर्कको संयोजनले सम्पूर्ण स्टेजलाई ऊर्जा, उत्साह र दृश्यात्मक भव्यताले भरिएको छ ।’
बिल्कुलै नयाँ प्रस्तुति ‘श्वेत र काल’को अवधारणको बारेमा दीपक दीपक बज्राचार्य संग सोध्दा यसो भन्नु हुन्छ
“हामी सधैं नेपाली संस्कृति र परम्परालाई सम्मानपूर्वक नयाँ शैलीमा प्रस्तुत गर्दै आएका छौं। तर यसपटक हाम्रो उद्देश्य कुनै धर्म वा संस्कृतिसँग नजोडिकन, जीवनचक्रका दुई अविभाज्य पाटा – सकारात्मक र नकारात्मक ऊर्जालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नु हो, जुन एक सार्वभौमिक सत्य हो। यसमार्फत दर्शकलाई दृश्य र संगीत दुवै पक्षबाट नयाँ अनुभव दिन चाहन्छौं, जुन अन्तर्राष्ट्रिय मञ्चमा पनि सहज रूपमा बुझ्न सकियोस्।”
‘श्वेत र काल’ लाइ अब दीपक बज्राचार्यका सबै आगामी स्टेज कन्सर्टहरूको प्रमुख आकर्षणको रूपमा प्रस्तुत गरिनेछ।

 

तपाईको प्रतिक्रिया