पोखरा। वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ बैरागी काइँलालाई लेखनाथ साहित्य पुरस्कार २०७६ बाट सम्मानित गरिएको छ । कवि शिरोमणिको १३६औं जनजयन्ती अवरसमा मंगलबार कवि शिरोमणिको जन्मस्थल लेखनाथ अर्घौंअर्चलेमा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । कवि शिरोमणिकी कान्छी छोरी कुन्तीदेवी भट्टराईका परिवारजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ ।
१९९६ साल साउनमा पाँचथरमा जन्मेका बैरागी काइँलाका एक दर्जनभन्दा बढी साहित्य र संस्कृतिसँग सम्बन्धित कृतिहरू प्रकाशित छन् । उनी दर्जनांै संघसंस्थाबाट पुरस्कृत एवं सम्मानित भइसकेका छन् । आयामेली साहित्यिक आन्दोलनका एक सशक्त खम्बा काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत हुन् ।
यसैबीच, लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट रासस गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेल सम्मानित भएका छन् । उनलाई ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
सो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना र वसन्त अधिकारीलाई दिइएको थियो ।
त्रिमूर्तिमा मनाइयो शिरोमणि जयन्तीकाठमाडौं÷रास– कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औं जयन्तीका मंगलबार काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । त्रिमूर्ति निकेतनले पनि पौड्यालको जन्मजयन्ती मनायो ।
यस क्रममा त्रिमूर्तिका अध्यक्ष इन्दिरा प्रसाईंले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गरिन् । उनीसँगै विभिन्न स्रष्टाले पौड्यालसँगै नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरे ।
क्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक यादव भट्टराईले नेपाली साहित्यमा शिरोमणि पौडेलको योगदानबारे चर्चा गरे ।
उनीहरूले शिरोमणिले देखाएको साहित्यिक बाटोमा हिँड्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । कार्यक्रममा कविहरू सीता भट्टराई, यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गरे ।




































