नेपाली फिल्म क्षेत्रमा निरन्तर सक्रिय रहने निर्माताहरूको संख्या निकै कम छ। धेरैजसो निर्माता एक–दुई फिल्म असफल भएपछि यो क्षेत्रबाट टाढा हुने गरेका उदाहरण प्रशस्त छन्। तर, केही निर्माता भने यस्ता पनि छन्, जसले फिल्मलाई केवल नाफा–घाटाको हिसाबले होइन, आफ्नो जीवनको कर्म र रुचिको रूपमा लिएका छन्। त्यही समूहमा पर्छन् निर्माता सुशील पोखरेल।
झण्डै तीन दशकदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले नेपाली फिल्म उद्योगलाई थुप्रै चलचित्र दिएका छन्। उनले निर्माण गरेका ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ जस्ता फिल्मले व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेका थिए। यसबाहेक उनले ‘परदेशी’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभसब’, ‘राधे’ र ‘यात्रा’ जस्ता फिल्म पनि निर्माण गरेका छन्। तर, ‘यात्रा’ फिल्मको असफलतापछि उनी करिब सात वर्ष फिल्म निर्माणबाट टाढा रहे। त्यसको कारण व्यक्तिगत बाध्यता रहेको बताइन्छ। अब भने उनी फेरि सक्रिय रूपमा फिल्म क्षेत्रमा फर्किएका छन्।
निर्माता पोखरेलको पुनरागमन फिल्म ‘परालको आगो’ बाट हुँदैछ, जुन बैशाख ११ गते देखि प्रदर्शनमा आउने तयारीमा छ। उनले यस फिल्मलाई आफ्नो करिअरको दोस्रो अध्याय को रूपमा लिएका छन्। टिजर र गीतहरू दर्शकले राम्रो प्रतिक्रिया दिएका कारण आफू अझ आत्मविश्वासी बनेको उनी बताउँछन्। फिल्मप्रति दर्शकको विश्वास कायम रहने दाबी गर्दै पोखरेल भन्छन्, “यो पटक म सबैको मन जित्ने वाचा गर्छु। म पैसा कमाउन मात्र फिल्म बनाउँदिनँ, यो मेरो प्यासन हो। सुशील पोखरेलले सधैं राम्रो फिल्म बनाउँछ भन्ने विश्वास ‘परालको आगो’बाट पनि कायम रहनेछ।”
लक्ष्मण सुनार को निर्देशनमा बनेको यस फिल्ममा प्रकाश सपूत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुलबहादुर अधिकारी र मन्जिला बाँनिया लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद, संकल्प भुजेलको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
‘परालको आगो’मार्फत निर्माता सुशील पोखरेलले लामो अन्तरालपछि पुनः फिल्म क्षेत्रमा आफ्नो उपस्थिती जनाउँदै दर्शकको मन जित्ने अपेक्षा गरेका छन्।










