काठमाडाैँ– साँझ ७ बज्नै लाग्दा हेरिटेज गार्डेन होटल, सानेपाको सभाहल मानिसले खचाखच भरिएको थियो। हाँस्यकलाकार तथा सञ्चारकर्मी राजा राजेन्द्र स्टेजमा उक्लिएपछि त्यहाँको माहोल एकाएक खल्बलियो।
कार्यक्रम सञ्चालकले राजा राजेन्द्रलाई दर्शकलाई हसाउन स्टेजमा आमक्रण गरेका थिए, तर उनले आफूलाई गीत गाउन मन भएको भन्दै गायक आनन्द कार्कीको स्वर नक्कल गर्दै गीत गुनगुनाए र आफ्नो तारिफ गर्न थाले।
एक लाइन गाएपछि दर्शक दिर्घामा बसेका आनन्द कार्कीले अर्को लाइन पूरा गरे अनि भने, ‘मेरो गरिखाने पेशामा आँखा नगाड’। यसपछि आनन्दको स्वर राजा राजेन्द्रले नक्कल गर्न पाएनन्।
दर्शकलाई लाग्याे, अब राजा राजेन्द्रले के गर्लान्?
उनको आँखा दर्शकदीर्घाको पहिलो रोमा बसेका महानायक राजेश हमाल पट्टी गयो। उनले राजेश हमालको बोली र हाँसोको नक्कल गर्दासम्म राजेश त्यहीँ बसेर हाँसे तर जोक जब उनको वैवाहिक जीवन अनि सन्तानको बारेमा पुग्यो तब उनी उठेर हिँडे।
स्टेजमा उभिएका कलाकार ‘राजेश दाइ सरी’ भन्दै थिए, राजेश हमाल पछाडि फर्किँदै फर्किएनन्। दर्शकको आँखा राजेश हमाल र राजा राजेन्द्रतर्फ दाँया र बाँया गरिरह्यो।
राजा राजेन्द्रले त्यसपछि पनि राजेश हमालको जोक सुनाउन छोडेनन्।
राजेश दाइलाई सायद धेरैले सोध्ने प्रश्न थियो, ‘सन्तान कहिले ?’
राजेश दाई– ‘प्रयास जारी छ,’
‘अब यतिका वर्षसम्म प्रयास गरेर के डाइनोसर पाउन लागेको हो र ?’
दर्शक गलल हाँस्छन्।
त्यसपछि राजा राजेन्द्र अभिनेता भुवन केसीतर्फ लागे, ‘भुवन केसी दाइको आवाज यति मोटो छ की खोलाले बगायो भने पनि ‘बचाउ’ भन्दा आवाज कसैले चिन्दैन।’
उनी फेरि राजेश हमाललाई व्यंग्यमा जोड्दै थिए। हमालको चर्चित डायलग ‘हे….’ र हाँसो ‘हा..हा..हा’ गर्दै गर्दा पछाडिबाट स्टेजमा राजेश हमालको इन्ट्री भयो।
अनि राजेश हमालले हाँस्य कलाकार राजा राजेन्द्रलाई काँधमा हात राख्दै भने, ‘तिमी अब राजेश हमालको जोक सुन। राजेश हमालको घरको दायाँ बायाँ बेलायती राजदूतावास र भारतीय राजदूतावासको किन छ ?’
‘किन ?’
‘तिनीहरुलाई अन्त बस्न डर लाग्दैन र ?’
यसपछि दर्शक दिर्घामा हाँसो छुट्यो। राजा राजेन्द्र आत्मसमर्पण गरेझै गरी मञ्च छोडेर गए। अनि दर्शक फेरी हाँसे।
सानेपामा भएको पाँचौ कामना चलचित्र अवार्डमा यो दृष्य देखिएको हो। कार्यक्रमको अन्त्यतिर यस्तो दृश्य देखाइएको थियो।




































