काठमाडौं। पुस महिनाभर हलमा नेपाली फिल्मको खडेरी देखियो। महिनामा जम्मा एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आयो, त्यो पनि बीनाप्रचार–प्रसार।
पुसको १८ गते ‘दम द पावर’नामक फिल्म प्रदर्शनमा आएको थियो। तर, यो फिल्म आएको–गएको फिल्मकर्मीलाई नै पत्तो भएन्। दर्शकलाई हुने कुरै भएन्। यसबीच हलमा बलिउड र हलिउड फिल्मले राज गरे।
माघ महिना सुरु भएसंगै भने हलमा नेपाली फिल्मले आफ्नो उपस्थिति जनाएको छ। आजदेखि फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आएको हो।
जोन योञ्जनको लेखन तथा निर्देशन रहेको फिल्मले बेरोजगार युवाहरुले पैसा कमाउनका लागि १२ सत्ताईस गर्ने कथालाई कमेडी शैलीमा वाचन गर्नेछ।
फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, विना कार्की, धर्मेन्द्रध्वज मल्ल, करन साउँदको मुख्य अभिनय रहेको छ। ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन्। फिल्मको सह–निर्मातामा गौतम शाह रहेका छन्।
फिल्ममा विक्रम स्वारको कोरियोग्राफी, अनिश स्यांगदेनको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ।




































