वासिङ्टन । मध्यपूर्वमा जारी तनावबिच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्णरूपमा नखुले पनि इरान विरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगीसँगको छलफलमा आगामी चारदेखि छ हप्ताभित्र इरान विरुद्धको सैन्य कारबाही अन्त्य गर्न तयार रहेको जनाउनुभएको बताइएको छ, यद्यपि होर्मुज जलडमरूमध्य अझै प्रभावकारी रूपमा अवरुद्ध रहने अवस्था कायम छ । यस्तो निर्णयले सो महत्त्वपूर्ण समुद्री मार्गमा इरानको प्रभाव विस्तार हुन सक्ने आँकलन गरिएको छ ।
उहाँले इरानको नौसैनिक र क्षेप्यास्त्र क्षमतामा उल्लेख्य क्षति पुर्याइसकेको दाबी गर्दै अब दीर्घकालीन समुद्री सैन्य अभियानमा नफस्ने सङ्केत गर्नुभयो । प्रशासनका अधिकारीका अनुसार अमेरिका आफ्ना ‘मुख्य’ सैन्य लक्ष्य पूरा गरिसकेपछि विजय घोषणा गर्दै बाहिरिन सक्ने विश्वास ट्रम्पमा रहेको छ । ट्रम्पले होर्मुज बन्द हुनु मुख्यतः एसिया र युरोपका लागि समस्या भएको उल्लेख गर्दै उक्त जलमार्गबाट करिब ८४ प्रतिशत तेल एसियाली बजारतर्फ जाने तथ्य औँल्याउनुभयो ।
अमेरिका अब मध्यपूर्वीय ऊर्जामा निर्भर नरहेको धारणा उहाँले दोहोर्याउनुभयो । यद्यपि, जलडमरूमध्य अवरुद्ध रहँदा विश्व बजारमा असर देखिन थालेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघिसकेको छ भने मललगायत आवश्यक वस्तुको आपूर्ति प्रभावित हुने चिन्ता बढेको छ । अमेरिकाले आवश्यक परे ट्याङ्करको सुरक्षाका लागि एस्कर्ट व्यवस्था गर्ने वा बहुराष्ट्रिय पहलमार्फत जलमार्ग खुलाउने विकल्प खुला राखेको भए पनि ती तत्काल प्राथमिकतामा नरहेको जनाइएको छ ।
युद्ध अन्त्यको सङ्केतसँगै अमेरिकी सैन्य उपस्थिति भने क्षेत्रमा घटेको छैन, बरु बढ्दो अवस्थामा रहेको छ । युएसएस त्रिपोली र ३१औँ मरीन एक्सपिडिसनरी युनिट क्षेत्रमै तैनाथ भइसकेका छन् भने ८२ औँ एयरबोर्न डिभिजनसहित थप १० हजार सैनिक पठाउने विषयमा पनि विचार भइरहेको छ । यसले एकातिर युद्ध अन्त्यको सङ्केत र अर्कोतर्फ सैन्य सुदृढीकरणबिच विरोधाभास देखिएको छ ।
यसैबिच, ट्रम्पले जलडमरूमध्य नखुलाए इरानको नागरिक ऊर्जा संरचनामा आक्रमण गर्न सकिने चेतावनीसमेत दिनुभयो । उहाँले युद्धलाई ‘सुन्दर प्रवास’ र ‘भ्रमण’ जस्ता अभिव्यक्तिमा चित्रण गर्नुभएको उल्लेख गरिएको छ । ह्वाइट हाउसले भने हालै केही तेल ट्याङ्करहरू होर्मुजमार्फत आवतजावत गर्न थालेको घटनालाई अमेरिका–इरानबिच जारी प्रत्यक्ष तथा अप्रत्यक्ष कूटनीतिक वार्ताको परिणामका रूपमा व्याख्या गरेको छ ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले इरानले चयनात्मक रूपमा ट्याङ्करलाई अनुमति दिएको भन्ने आरोप अस्वीकार गर्दै कूटनीतिक पहलकै कारण आवागमन सम्भव भएको बताउनुभयो । उहाँका अनुसार सुरुमा १० वटा ट्याङ्करलाई अनुमति दिइएकोमा थप २० वटा ट्याङ्कर पनि आवागमनका लागि तयारी अवस्थामा छन्, जुन आगामी दिनमा देखिने अपेक्षा गरिएको छ । ट्रम्पको कूटनीतिक सक्रियता बिनाको अवस्थामा यस्तो प्रगति सम्भव नहुने उहाँले जोड दिनुभयो ।
यसअघि ट्रम्पले इरानले ‘सद्भावको सङ्केत’ स्वरूप २० तेल ट्याङ्करलाई मार्ग प्रयोग गर्न अनुमति दिएको दाबी गर्नुभएको थियो । उहाँका अनुसार प्रारम्भमा १० र पछि थप १० ट्याङ्करलाई अनुमति दिइनु सकारात्मक सङ्केत हो । उता, इरानले भने होर्मुज जलडमरूमध्य व्यवस्थापन सम्बन्धी योजना अघि बढाएको छ । इरानी संसद्को सुरक्षा समितिले जहाजबाट टोल असुल गर्ने, सुरक्षा व्यवस्था कडा बनाउने तथा कानुनी ढाँचा निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको राज्य सञ्चार माध्यमले जनाएका छन् ।
उक्त योजनामा विशेष गरी अमेरिका र इजरायलसँग सम्बन्धित जहाजलाई प्रतिबन्ध लगाउने, इरानको सार्वभौम भूमिकालाई सुदृढ बनाउने तथा ओमानसँग सहकार्य गर्ने प्रावधान समेटिएको छ । साथै, इरानविरुद्ध प्रतिबन्धमा सहभागी मुलुकका जहाजलाई पनि आवागमनमा रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
हाल दोस्रो महिनामा प्रवेश गरेको इरान र अमेरिका–इजरायल गठबन्धनबिचको द्वन्द्वबिच आएको यो कदमले विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्ग मध्ये एकमा नियन्त्रण स्थापित गर्ने तेहरानको रणनीति स्पष्ट देखिएको छ । एएनआई









