काठमाडौं , माघ ८। अभिनेत्री प्रियंका कार्कीले यतिबेला ब्याचलर पार्टीका कारण विवादमा छिन् । पश्चिमा शैलीमा पहिलो विवाहभन्दा अघि कुमारी युवतीहरूले समकक्षीलाई दिने पार्टीलाई ब्याचलर पार्टी भनिन्छ । तर, अभिनेत्री प्रियंका कार्कीले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रोपटक विवाह गर्दै छिन । रोचक मैनालीकी पूर्वपत्नी रहिसकेकी प्रियंकाले सन् २०१० मा अमेरिकामा अध्ययनका क्रममा रोचक विवाह गरेकी थिइन् ।

बिहेको तीन वर्षपछि रोचकसँग सम्बन्ध विच्छेद गरेकी प्रियंकाले आयुष्मानसँग विवाह गर्ने भन्दै साथीहरूलाई यतिबेला थाइल्यान्डको बैंककमा पार्टी दिएकी छन् । त्यहाँ आफू क्रिस्चियन वेशभूषामा बेहुली भएर केक काट्दै उनले मदिरायुक्त पार्टी दिएकी हुन् । पार्टीको क्रममा विकिनीमा निकै कामुक बनेर मदिरा पार्टीमा रमाउँदै गरेको तस्बिर पनि उनले सार्वजनिक गरेकी छन् ।

प्रियंका पार्टीपछि अहिले त्यहाँ घुमघाममा व्यस्त छिन् । उनी ब्याचलर पार्टीकै लागि आफ्ना केटीसाथीहरू सहाना बज्राचार्य, शिवांगी प्रधान, श्रेया जोशीलगायतसँग तीन दिनअघि बैंकक पुगेकी हुन् । उनले त्यहाँ यी साथीहरूसँग बेहुली बनेको र ब्याचरल पार्टी गर्दै गरेको तस्बिरहरू आफ्नो फेसबुकमा सेयर गरेपछि अहिले प्रियंका सामाजिक सञ्जालमा भाइरल भएकी छन् । दोस्रो विवाह गर्ने तयारीमा रहेकी यी अभिनेत्री कसरी कुमारी भइन् र उनले ब्याचलर पार्टी दिइन् भनेर प्रश्न उठाइएको छ ।

अभिनेता आयुष्मानसँग अभिनेत्री प्रियंकाले डेढ वर्षअघि नै विवाहको लागि इंगेजमेन्ट गरेकी हुन् । गएको असारमा उनको विवाह हुने कुरा थियो । तर, त्यो समय यी अभिनेत्रीको विवाह ट¥यो । आफू र आयुष्मानको विवाह अब कहिले हुन्छ भनेर प्रियंकाले मिति घोषणा गरेकी छैनन् । तर, उनी यतिबेला बैंकक पुगेर बेहुली बनेकी छन् ।

एक दशकअघि रोचकसँग प्रेम विवाह गरेकी प्रियंकाको यसपटक पनि प्रेम विवाह नै हुन लागेको हो । यो ब्याचलर पार्टीको तामझाम हेर्दा यी अभिनेत्रीले अब चाँडै विवाह गर्ने आँकलन गरिएको छ ।

सात दिन लगाएर विवाहको सबै रीतिरिवाज पूरा गर्दै दाम्पत्य जीवनमा बाँधिने बताएकी प्रियंकाले रोचकसँग सुटुक्क विवाह गरेकी थिइन् । यसपटक उनी धुमधामसँग विवाह गर्ने तयारीमा छिन् । तर, दोस्रो विवाहपूर्व उनले ब्याचरल पार्टी दिएका कारण अहिले सामाजिक सञ्जालमा आलोचना खेप्नुपरेको छ ।

तपाईको प्रतिक्रिया