नेपालीमा एउटा उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यस वर्षको डिजास्टर फिल्म ‘प्रेम संसार’ को सिक्वेल निर्माण हुने भएपछि यो उखान चरितार्थ भएको छ । संसारमा सुपरफ्लप फिल्मको सिक्वेल निर्माण भएका उदाहरण सायदै होलान् । हलबाट भित्तामा पोस्टर टाँस्न बनाइएको माडको पनि पैसा नउठाएको फिल्मको सिक्वेल निर्माण गर्न को निर्माता तम्सन्छन् होला र !
‘प्रेम संसार’ निर्माताले शनिवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको सिक्वेल निर्माण गर्ने घोषणा गरेका छन् । फिल्मका निर्माता तथा अभिनेता प्रेम सोनीले फिल्मले लगानी उठाएको भन्दै ‘प्रेम संसार २’ बनाउने घोषणा गरेका हुन् । अझ रोचक कुरा के छ भने, फिल्मले केही हलमा प्रदर्शनको ५१औं दिन मनाउन सफल भएको दाबी निर्माता तथा कलाकार सोनीले गरेका छन् ।
शनिवार राजधानीमा आयोजना गरिएको फिल्मको ५१औं दिने सेलिब्रेसनमा हल संचालक, वितरक, फिल्ममा अभिनय गरेका कलाकार तथा सञ्चारकर्मीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । गएको मंसिर १३ गतेबाट प्रदर्शनमा आएको फिल्मलाई जबरजस्ती हिटको ट्याग लगाउन निर्माण टिमले ५१औं दिने सेलिब्रेसन आयोजना गरेर सिक्वेल घोषणा गरेको बुझिएको छ ।
प्रायः दर्शकलाई फिल्म ‘प्रेम संसार’ हलमा लागेको र उत्रिएकै पत्तो छैन । तर, निर्माण टिमले प्रायोजित प्रशंसामा रमाउन फिल्मले हलमा प्रदर्शनको ५१औं दिन मनाएको भन्दै गर्वका साथ सिक्वेल निर्माणको घोषणा गरेको छ । फिल्मको सिक्वेल घोषणामा मात्रै सीमित नभए संसारमा पहिलो पटक डिजास्टर सावित भएको फिल्मको सिक्वेल निर्माणको रेकर्ड ‘प्रेम संसार’ ले राख्नेछ ।
वितरकलाई प्रश्नः फिल्म हिट भएकै हो त ?
विश्व फिल्म बजारमा नाफा कमाएको फिल्मको मात्र सिक्वेल निर्माण हुने गरेका छन् । तर, नेपालमा पहिलो पटक बक्सअफिसमा टाँट पल्टिएको फिल्म ‘प्रेम संसार’ को सिक्वेल निर्माण हुने भएपछि यतिबेला फिल्मवृतमा हाँसोको माहोल बनेको छ । के फिल्म हिट भएकै हो त ? वितरक करण श्रेष्ठ भन्छन्, ‘फिल्मले नाफा कमाएको त छैन । तर, केही हलमा ५१औं दिन चाहिँ मनाएको हो ।’
उनी अगाडि भन्छन्, ‘यो फिल्म प्रदर्शनमा आएपछि हलमा नयाँ नेपाली फिल्म नै लागेनन् । यसकारण पनि फिल्म जेनतेन हलमा टिक्यो । केही हलमा फिल्मले राम्रो व्यापार पनि गरेको छ । तर, फिल्म हिट नै चाहिँ भएको छैन । यो अवस्थामा पनि निर्माताले फिल्मको सिक्वेल निर्माण गर्ने जुन साहास गर्नुभएको छ त्यो चाहिँ स्वागतयोग्य छ । हामीले उहाँहरुलाई हौसला दिनुपर्छ ।’