अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए ।
करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य भएको छैन । अहिले उनीहरु अभिनयमा निस्क्रिय झैँ छन् । हमालले तीन वर्षदेखि नयाँ फिल्म गरेका छैनन् भने करिश्माले पनि फिल्म नगरेको वर्षौं भइसकेको छ । एक समय फिल्मको माध्यमबाट दर्शकलाई प्रेम गर्न सिकाएका उनीहरुलाई फेरि पर्दामा हेर्न दर्शकको ठूलो वर्ग प्रतिक्षामा छ ।
फिल्ममा सहकार्य हुन नसके पनि राजेश र करिश्माले म्यूजिक भिडियोमा भने काम गर्दै आएका छन् । ‘तिमी मेरो प्राण, उजाड मेरो, चट्ट बसम देउरालीमा’ गीतको भिडियोमा उनीहरुको जोडी बाँधिएको छ । यी दुईले अभिनय गरेको नयाँ गीत ‘यादका लहरहरु’ केही दिन अगाडि मात्र यूट्युबमा सार्वजनिक भएको छ । यी गीतमा दर्शकहरुले यो जोडीलाई निकै मन पराएका छन् ।
अहिले राजेश हमाल र करिश्मा मानन्धरको म्यूजिक भिडियोमा राम्रो माग छ । उनीहरुले पनि भिडियोमा एकअर्कासँग काम गर्न आनाकानी गरेका छैनन् । तर, फिल्ममा चाहिँ किन उनीहरुबीच सहकार्य हुन सकेको छैन ? धेरैलाई चासोको विषय बनेको छ । एक समय हिटको ग्यारेन्टी मानिने यो जोडी पुनः पर्दामा फर्किए दर्शकसँगै नेपाली फिल्म क्षेत्रलाई पनि खुसीको कुरा हुनेछ ।
राजेश हमाल स्थिति सामान्य भएपछि आफ्नै निर्देशनमा फिल्म बनाउने तयारीमा छन् । फिल्ममा उनी स्वयंको अभिनय रहनेछ । अभिनेत्रीको भने टुंगो लागेको छैन । यो फिल्ममा उनले करिश्मालाई अभिनेत्रीको रुपमा रोज्ने सम्भावना प्रवल रहेको फिल्मवृतमा चर्चा छ । अब हमालले आफ्नो निर्देशनमा बन्ने फिल्ममा करिश्मालाई रोज्छन् वा अन्य अभिनेत्री, यो हेर्न रोचक हुने देखिन्छ ।