कोरोना भाइरसका कारण आठ महिनाभन्दा लामो समयदेखि सिनेमा हल बन्द छन् । निषेधाज्ञा खुकुलो भएपछि सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि सिनेमा हलमाथिको प्रतिबन्ध हटेको छैन । हल सञ्चालकहरु ५० प्रतिशत दर्शक राखेर फिल्म देखाउन तयार छन् । तर, आन्तरिक खिचातानीमा अल्झिएको सरकार फिल्म क्षेत्रका समस्याप्रति गम्भीर देखिएको छैन ।

सरकारले सिनेमा हल खोल्न अनुमति नदिए पनि फिल्म छायांकन भने भइरहेका छन् । कति निर्माता स्थिति सामान्य भएपछि छायांकन थाल्ने तयारीमा छन् । अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘भाँडाकुटी’ को पनि फागुन पहिलो साताबाट छायांकन सुरु हुँदैछ । अहिले यसको निर्माण टिम लोकेशन हन्टिङका लागि बुटवल पुगेको छ ।

निर्देशक किरण विकको साथमा फिल्मका लागि लोकेशन हन्टिङमा निस्किएका मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा तस्विर खिचाएका छन् । पहिलो पटक स्क्रिन शेयर गर्न लागेका उनीहरु एकअर्कासँग घुलमिल भइसकेको तस्विर हेर्दा बुझ्न सकिन्छ । फिल्मले चारवटा कथा भन्नेछ । ती चारवटै कथा विवाह सम्बन्धि रहेको निर्देशक विकले बताए ।

फिल्ममा मुकुन र बेनिशाका अलावा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि अभिनय रहनेछ । स्क्रिप्ट लेखनमा निर्देशक विकलाई आचार्य गोपालले सघाएका छन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ । अष्ट्रेलियामा बस्दै आएका कलम खड्काले निर्माण गर्ने ‘भाँडाकुटी’ लाई २०७८ सालको सुरुवातमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

तपाईको प्रतिक्रिया