काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको बताएका छन् । आचार्यले ४० वर्ष अगाडि आफूहरूले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए । राजनैनिक विसंगतीले गुण्डा प्रवृतिका व्यक्ति संसद्मा छिरेको पनि टिप्पणी गरे ।

आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्यमिश्रीत गीत पनि सार्वजनिक गरेका छन् । गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेर भाइ घने कुरो के छ भने टुडिखेलमा हात देखाउँदा ज्योतिषिले धनी हुन्छौँ भने, चुनाव लड्नु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीतिमाथि कसेका छन् ।

नेपालमा बढ्दै गएको भ्रष्ट्राचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताए । कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृतिको रूपमा रहेको भ्रष्ट्राचार गाडिएको पनि बताए ।

राजनीतिमा लागेर धेरै व्यक्तिहरू अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ ।

नेपालमा यही प्रवृति रहेका कारण जनतामा निराशा आएको बताउँदै उनले भने, ‘जनताहरूमा बढी निराशा छाएको कारणपनि त्यही हो कि यो प्रवृति, भ्रष्ट्राचारको प्रवृति रोकियोस् । राजनीतिमा मात्रै होइन कि प्रशसनिक क्षेत्रमा पनि त्यत्तिकै छ ।’

देशको राजनीतिक नेतृत्वले देशको पूरै राजनीतिक प्रणालीलाई आफूजस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको बताए ।

तपाईको प्रतिक्रिया