काठमाडौं – प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा प्रहरीले सोमबार साँझ विन्ध्यवासिनी म्युजिककी सीईओ लीना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकले आफ्नो प्रतिलिपि अधिकार हनन् गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका थिए ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले रेग्मीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । ‘प्रतिलिपि अधिकार हनन् गरेको उजुरीका आधारमा हामीले रेग्मीलाई पक्राउ गरेका हौं’ प्रवक्ता विष्टका अनुसार घटनाको अनुसन्धान सुरु भएको छ, प्रकृया अनुसार प्रहरी अगाडि बढ्ने छ ।
प्रतिलिपि अधिकार हननको विषयमा प्रहरीले आरोपीलाई पक्राउ गरेको यो पहिलो घटना भएको बताइएको छ । केही सातअघि गायक प्रमोद खरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीलाई कारबाहीको माग गर्दै ५७ जना गायक गायिकाले हस्ताक्षर गरेर महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा निवेदन दिएका थिए । आफ्नै लगानी र कपीराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको उनीहरुको निवेदनमा उल्लेख थियो ।
उक्त निवेदनमा सद्भावपूर्ण अनुरोधलाई बेवास्ता गरी रेग्मी पक्षबाट गालीगलौज, अपमानपूर्ण र अन्यायपूर्ण अभिव्यक्ति भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ भन्दै उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई स्रस्टा प्रस्तोताहरुप्रति लक्षित गरी गरिएका गालीगलौज र मानमर्दनविरुद्ध कानूनी प्रक्रियाद्वारा आवश्यक कारबाही गरिदिन हुन अपिल गर्दछौं’ लेखिएको थियो ।
अपिलसहित कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा प्रमोद खरेलसहित लक्ष्मण शेष, राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, अनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराई आदि थिए । केही दिनअघि प्रस्तोता समाजले प्रमोदलाई अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान २०७२, प्रतिलिपि अधिकार २०५९ र नियमावली २०६१ बमोजिम कानुनी उपचार खोज्न सुझाव दिएको थियो ।
२०६६ चैत २७ देखि प्रणय एल्बमको व्यापार तथा बजार प्रवर्द्धनका लागि पाँच वर्षको समय विन्ध्यवासिनी म्युजिकसँग रहे पनि अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार–व्यावसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै प्रमोद कानुनी उपचार खोज्दै प्रहरीसमक्ष पुगेका हुन् ।
विन्ध्यवासिनी म्युजिकका सञ्चालकले पनि बिना अनुमति प्रमोदले आफूले तयार पारेको गीत–संगीत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको भन्दै रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको थियो ।
साभार : १२ खरी बाट




































