अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री सुष्मा कार्कीले मंगलवार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी थिइन् । सोमबार राति दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो । बुधवार दिउँसो दुवै पक्षलाई बोलाएर प्रहरीले लामो छलफलपछि विवाद सल्टाएको छ ।

महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा भएको छलफलपछि आरती र उत्सवले गल्ती स्वीकार गर्दै सुष्मासँग माफी मागे । उनीहरुले प्रहरीसमक्ष आवेशमा आएर गल्ती हुन गएको स्वीकार गर्दै सुष्मासँग माफी मागेका हुन् । पत्रकार उत्सवले मिडियाको सामु पनि नहुनुपर्ने घटना भएको भन्दै आगामी दिनमा यस्ता खालका विवाद र भनाभन नहुने बताए ।

प्रहरी वृत्तमा उपस्थिति मिडियाकर्मीसँग सुष्माले भनिन्, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरुले स्वीकार गर्नुभएपछि मैले माफी दिएँ ।’ उत्सवले जातीय कुरा उठाएकोमा आपत्ति जनाउँदै उनले अगाडि थपिन्, ‘जातीय कुरा पनि उठाइएको रहेछ । जबकि, म त्यस्तो उच्चारण गर्दिनँ । मलाई दुईटा जात मात्र थाहा छ, महिला र पुरुष । यस्तो गलत कुरा नफैलाउँ भनेर मैले उत्सवमा भनेको छु ।’

पत्रकार रसाइलीले सुष्मा र आफूहरुबीच नहुनुपर्ने असमझदारी भएको र सुष्मामाथि भएको आक्रमणप्रति क्षमा याचना गरे । ‘भोलीका दिनमा यस प्रकारका वाद विवाद, भनाभन हुने छैन भनेर हामीहरुबीच समझदारी भएको छ । अबदेखि हामीले एकअर्काको आत्मालाई सम्मान गर्दै अगाडि बढ्ने भन्ने निर्णय भएको छ,’ उत्सवले भने । उनले पबमा भएको आक्रमणबाट घाइते भएकी सुष्माको स्वास्थ्य लाभको पनि कामना गरे ।

तपाईको प्रतिक्रिया