अध्यादेशमार्फत् शनिवार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले फिल्म क्षेत्रका केही विषयसँगै चलचित्र विकास बोर्डले अगाडि सारेको ‘स्टोरी बैंक’ को अवधारणालाई पनि सम्बोधन गरेपछि फिल्मकर्मीमा खुसी छाएको छ । स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले सरकारले बजेटमा ‘स्टोरी बैंक’ को अवधारणालाई निरन्तरता दिनु सकारात्मक रहेको बताएका छन् ।
‘स्टोरी बैंक’ को बारेमा बुझाउँदै उनले भनेका छन्, ‘स्टोरी बैंकको अवधारणा के हो भने चलचित्र विकास बोर्डमार्फत् सरकारको पनि सह-लगानीमा फिल्म निर्माण हुनेछ । अघिल्लो वर्ष ‘स्टोरी बैंक’ का लागि सरकारले ३५ लाख बजेट छुट्याएको थियो । यो एकदमै थोरै रकम भए पनि सकारात्मक मान्नु पर्छ । यसपाली सरकारले ‘स्टोरी बैंक’ लागि बजेट बढाएको छ भन्नेमा विश्वस्त छु ।’
अहिलेसम्म ‘स्टोरी बैंक’ मा दर्ता भएका ५५ वटा फिल्मको कथा तथा पटकथामध्ये ५-७ वटा फिल्मलाई छनोट गरेर चलचित्र विकास बोर्डले लगानी गर्न सके बजेटको सही कार्यन्वयन हुने उनी बताउँछन् । निर्माताले जोखिम उठाउन तयार नभएका फिल्ममा सरकारले सह-लगानी गर्नुपर्ने उनको भनाइ छ । तर, उनलाई ‘स्टोरी बैंक’ मा राजनीति घुस्ने होकि भन्ने चिन्ता पनि उतिक्कै छ ।
लेखक भारद्वाज भन्छन्, ‘यसअघि विकास बोर्डबाट त्यस्तो निष्पक्ष काम भएको देखिन्न । जुन पार्टी सरकारमा हुन्छ त्यही पार्टीमा आबद्ध भएका मान्छेले उत्कृष्ट फिल्मको अवार्ड पाएको कयैन् पटक देखेको छु । स्टोरी बैंकमा चाहिँ त्यस्तो नहोस् । वास्तविक सर्जकले नै अवसर पाउन् । यसमा राजनीति नछिरे हुन्थ्यो । राजनीतिक घुस्नु भनेको कालन्तरमा फिल्म क्षेत्रलाई नै असर गर्छ ।’
उनले यसपटकको बजेट फिल्म क्षेत्रका लागि सकारात्मक नै रहेको बताएका छन् । तर, कोरोनाको समयमा सरकारले फिल्म क्षेत्रलाई अझै काखी च्याप्न नसकेको उनको तर्क छ । उनी भन्छन्, ‘समग्रमा फिल्म क्षेत्रका लागि बजेट राम्रो नै छ । सरकारसँग मेरो एउटा आग्रह के छ भने हामीले फिल्म निर्माण गर्दा जुन अनुमति लिनुपर्छ त्यो एक द्वार प्रणालीबाट भए अझ राम्रो हुन्थ्यो ।’
भिडियो :-