काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्। पृथ्वीजयन्तीको अवसरमा मंगलबार बिहान सिंहदरबार मूलगेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन्।
कार्यक्रममा नेपाली सेनाको टोलीले सम्मान गारथ अर्पण गरेको थियो। माल्यार्पण गर्न राजनीतिक दलका नेता, मन्त्री र सर्वसाधारण पुगेका छन्।
भण्डारीले शुभकामना सन्देशमार्फत मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राखी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्। भण्डारीले पृथ्वीनारायणका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्ने विश्वास व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले वीर पुर्खाहरूको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा सबैको रहेको बताएकी थिइन्। उनको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको शुभकामना सन्देशमा उल्लेख छ।
सन्देशमा भनिएको छ, ‘देशभक्तिको भावनाले ओतप्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रको रूपमा रहेको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा तराई, पहाड र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित छ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मङ्गलबार सिंहदरबारस्थित शालिकमा पुष्पहार अर्पण गर्दै । तस्बिर : रासस










