आगामी चलचित्र ‘मितज्यू’ले आफ्नो दोस्रो गीत ‘भुन भुन माहुरी’ सार्वजनिक गर्दै दर्शकमाझ थप उत्साह थपेको छ। यसअघि सार्वजनिक रिलिज गरेको गितबाट सकारात्मक प्रतिक्रिया पाएको फिल्मले नयाँ गीतमार्फत प्रेम, आकर्षण र सम्बन्धको मिठासलाई फेरि रोचक शैलीमा प्रस्तुत गरेको छ।
गीत ‘भुन भुन माहुरी’मा शीर्षकअनुसार नै मायाको ‘भुनभुन’ भावना झल्किएको छ। संगीत र शब्दको संयोजनले युवा पुस्तालाई लक्षित गरेको महसुस हुन्छ भने दृश्यमा कलाकारहरूको केमेस्ट्रीले गीतलाई अझ जीवन्त बनाएको छ। रंगीन फ्रेम, र नृत्य संयोजनले गीतलाई आकर्षक बनाएको देखिन्छ। निर्माण टिमका अनुसार, यो गीतले फिल्मको कथावस्तुमा महत्वपूर्ण भूमिका खेल्नेछ।विशेषगरी, पात्रहरूबीचको सम्बन्ध विकास र भावनात्मक पक्षलाई दर्शाउन यसले सहयोग गर्ने विश्वास लिइएको छ।
‘मितज्यू’ले संगीत पक्षमा पनि विशेष ध्यान दिएको देखिन्छ। पहिलो गीतपछि दोस्रो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता झन् बढेको निर्माण पक्षको दाबी छ भने फिल्म ‘मितज्यू’ जेष्ठ ८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ, जसले प्रेमकथालाई नयाँ ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।










