कानमा इयरफोन लगाएर परीक्षा दिंदै गरेका एक परीक्षार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादाविपरीत दाहिने कानमा इयरफोन लगाएर मोबाइलमार्फत सम्पर्क गरी उत्तर लेख्ने दिपक नेपालीको परीक्षा लोकसेवा आयोगले रद्द गरेको हो ।

अमिनको लिखित परीक्षाको क्रममा कानमा इयरफोनसहित समातिएका उनले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको आयोगले जनाएको छ । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसूर गरेको उल्लेख गर्दै आयोगले उनलाई दुई वर्षसम्मका लागि लोकसेवाको कुनै पनि परीक्षामा सहभागी हुन रोक लगाएको छ ।

आयोगले खरिदार पदका उम्मेदवार विनोदबाबु शर्माको परीक्षा पनि रद्द गरेको छ । उत्तरपुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको पाइएपछि उनको परीक्षा रद्द गरिएको आयोगले जानकारी दिएको छ ।

सहायक केन्द्राध्यक्ष र निरीक्षकले भनेको नटेर्ने दिवाकर सापकोटाको परीक्षा रद्द भएको छ । खाली पाना कलमले काट्नु भनेकोमा उनले च्यातेका थिए । लोकसेवा आयोग ऐन, २०७९ को दफा ४१ (१) खण्ड (क) बमोजिमको कसूरमा उनको उक्त विज्ञापनको सबै परीक्षा रद्द गरिएको हो ।

तपाईको प्रतिक्रिया