नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन मागेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी सात दिनभित्र आवेदन पेश गर्न भनिएको छ । सूचनामा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्रांकित प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरी अनुभव प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

दरखास्तका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचेको दुईप्रति फोटो, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको वा नभएको स्वःघोषणा, पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सोको प्रतिलिपि पेश गर्नुपर्ने छ ।

त्यस्तै, नेपाली वा अंग्रेजी भाषामा तयार गरिएको बढीमा पाँच हजार शब्दको व्यवसायिक कार्ययोजना पनि बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न भनिएको छ ।

टेरामक्स, एमडीएमएलगायत प्रविधिको खरिदमा अपचलनको आरोप लागेपछि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले गत पुस २४ गते राजीनामा दिएका थिए । उनको राजीनामासँगै अध्यक्ष पद खाली छ ।

तपाईको प्रतिक्रिया