काठमाण्डौ – गणेश हिमालको आधार शिविर नजिक कर्मचारीसहितको टोली फसेको छ । टोलीमा रहेका केही बिरामी परेका छन् । टोलीमा रहेका ३/४ जना हिजो बेलुका सम्पर्क हुने ठाउँमा आइपुगेको र अरु १०/११ जना फसेका धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो ।
बिरामी र फसेकाहरूलाई उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ । उद्धारका लागि हेलिकप्टर आज बिहान फेरि जाने र मौसम अनुकुल भएमा उद्धार हुने उहाँले बताउनुभयो ।
टोलीमा रहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य र रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ । पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका,डिभिजन वन कार्यालय र पत्रकारको टोली केही दिनदेखि यात्रामा थियो ।
धादिङ गणेश हिमालको काखमा पर्छ । त्यस ठाउँमा बस्ती नभएको र सञ्चार सम्पर्क पनि हुन नसक्दा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।










