दशैंको फूलपाती अर्थात (असोज १३) बाट प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म माइतीघर ले दर्शकलाई आकर्षित गर्न विशेष प्रचार अभियान सुरु गर्ने घोषणा गरेको छ। यस अन्तर्गत, फिल्मको कालजयी गीत ‘प्राण भन्दा प्यारो माईतीघर’ को रिक्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ, जसको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
निर्माता रोहित अधिकारीका अनुसार, भाद्रको दोस्रो सातादेखि प्रतियोगिता सुरु हुनेछ र गीत समयमै सार्वजनिक गरिनेछ। देशभरका इच्छुक सहभागीहरूले उक्त गीतको अडियो प्रयोग गरी एकल वा सामूहिक नृत्य भिडियो तयार गरी पठाउन सक्नेछन्। भिडियो मोबाइलमै खिचेर पठाउने सुविधा समेत उपलब्ध हुनेछ। प्रतियोगितासम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने बताइएको छ।
यो पुरस्कार राशि नेपाली फिल्म प्रचार इतिहासकै सबैभन्दा ठूलो मध्ये एक मानिएको छ।
रोहित अधिकारी फिल्म्स प्रा.लि.को ब्यानरमा, मिलन तामाङको निर्देशनमा तयार भएको माइतीघर मा तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखिएको छ। फिल्ममा रविन शेरचन र धिरज तामाङ को लागानि छ भने ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता रहेका छन्।
फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन्, पटकथा र संवाद रामशरण पाठकले तयार गरेका छन्। सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जनको एक्सन निर्देशन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलका शब्दमा चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र दिवंगत जयदेवको संगीत यसका आकर्षण हुन्।
मुख्य कलाकारहरूमा केदार घिमिरे ‘माग्नेबुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम र संगीता थापा रहेका छन्।
निर्माता अधिकारीले यस पटकको प्रचार अभियानलाई अभूतपूर्व बनाउने र माइतीघर दर्शकको अपेक्षाभन्दा बढी प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।