नेपाली समाजमा बिस्तारै हराउँदै गएको ‘मित’ संस्कृतिलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरले दुई मितबीचको आत्मीय सम्बन्ध, विश्वास, मित्रता र त्यसैबीच उत्पन्न हुने द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ । पेसाले चालक रहेका दुई पात्रको सम्बन्ध वरिपरि घुम्ने कथाले पारिवारिक उतारचढाव र सामाजिक सम्बन्धका विभिन्न पाटाहरूलाई समेत समेट्ने संकेत गरेको छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, खड्गबहादुर पुन, अनुषा राईलगायत कलाकारहरूको अभिनय रहेको छ । चर्चित डान्सर टेरिया फौजा मगरले यही फिल्ममार्फत अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् । ट्रेलरमा उनको अभिनयलाई पनि आकर्षक रूपमा प्रस्तुत गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । यसअघि निर्देशक अनिल र निर्माता जनकले ‘घरज्वाइँ’मा सहकार्य गरेका थिए, जसले व्यावसायिक सफलता हासिल गरेको थियो ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘मितज्यू’मा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।










