अभिनयमा स्थापित कलाकारहरू निर्देशनमा उत्रिने उदाहरण विश्व सिनेमामा थुप्रै भेटिन्छन् । तर, निर्देशनबाट अभिनयमा आउने यात्रा भने निकै कमले मात्र तय गरेका छन् । यही दुर्लभ सूचीमा अब निर्देशक राजन भुसालको नाम थपिन लागेको छ ।

गत वर्ष प्रदर्शन भएको फिल्म ‘एक्टर  टेक वन’ बाट निर्देशनमा डेब्यु गरेका भुसाल अब नयाँ फिल्म ‘जिरो डिग्री’ मार्फत अभिनयमा पहिलोपटक दर्शकमाझ देखिँदैछन् । यस फिल्मका कथाकार स्वयं भुसाल नै हुन् । भने ‘जिरो डिग्री’को निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गर्दैछन् । यी दुईले यसअघि निर्देशन गरेको डेब्यु फिल्म ‘बेहुली फ्रम मेघौली’ बाट चर्चा कमाइसकेका छन् । रोचक संयोग के छ भने, आकाश बरालले भुसाललाई ‘एक्टर टेक वन’को लेखनमा समेत सघाएका थिए ।

मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पटकथा र संवाद निर्देशकद्वय काफ्ले–बरालले तयार पारेका हुन् भने कथावस्तु सडक नपुगेको एक दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधनपछि विदेशमा रहेका छोराछोरी नआइपुग्दासम्म शव सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँ भित्र्याउँदा उत्पन्न हुने संवेदनशील र अनौठा घटनाक्रमलाई प्रस्तुत गरिएको छ ।

आगामी वर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मका कार्यकारी निर्माता मोती कार्की हुन् । निशाल पौडेलको छायाङ्कन रहने फिल्ममा अङ्कित बाबु अधिकारीले सङ्गीत भर्नेछन् भने चर्चित गीत ‘काफ्ले’ का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन् । फिल्ममा कीर्तिमानी अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन् । निर्देशन, लेखन र अभिनय तीनै क्षेत्रमा सक्रिय बन्दै राजन भुसालले ‘जिरो डिग्री’मार्फत नेपाली सिनेमामा आफूलाई फरक उचाइमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया