फेब्रुअरी महिनालाई लक्षित गर्दै भ्यालेन्टाइन डेको प्रेमिल माहोललाई केन्द्रमा राख्दै रिलिज तयारीमा रहेको फिल्म ‘कुमारी’ ले दर्शकसम्म पुग्न फरक प्रचार रणनीति अपनाएको छ । माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस प्रेमकथानक फिल्मले ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ मार्फत सांगीतिक यात्रामा निस्कने घोषणा गरेको हो ।
निर्माण टिमका अनुसार कन्सर्ट शृङ्खला माघ १ गतेबाट सुरु भई फिल्म रिलिजको दिनसम्म निरन्तर चल्नेछ ।साथै यस क्रममा दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानजस्ता प्रमुख सहरहरूमा दर्शकसँग प्रत्यक्ष भेटघाटसहित लाइभ संगीत प्रस्तुति दिइनेछ । फिल्मको प्रचार–प्रसारमा संगीतलाई मुख्य हतियार बनाइएको निर्माण पक्षको भनाइ छ भने कन्सर्टमा फिल्मका चर्चित प्लेब्याक गायक केहरसिं लिम्बु र उनको लोकप्रिय ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले लाइभ प्रस्तुति दिनेछन् । युवापुस्तामाझ बलियो फ्यान फलोइङ रहेको ब्यान्डको उपस्थितिले फिल्मप्रति दर्शकको उत्साह अझै बढ्ने अपेक्षा गरिएको छ ।
अहिले नै फिल्मका दुई गीत ‘कता छौ’ र ‘तिमी बिना’ दर्शकमाझ चर्चामा छन् । यसैबीच कन्सर्ट सुरु हुनु अघि लोक लयमा आधारित अर्को नयाँ गीत पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ, जसमा पनि केहरसिं लिम्बुकै स्वर रहनेछ । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथात्मक फिल्म निर्देशन गरिसकेका निर्देशक दिनेश राउत ले ‘कुमारी’ मार्फत फेरि एकपटक प्रेमको कथा प्रस्तुत गर्दैछन् । फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारी ले अभिनयमा डेब्यु गर्दैछन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेम को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी तथा कार्यकारी निर्माता केदार भुसाल हुन् । विकास सुवेदी को कथा तथा पटकथा, सुसन प्रजापति को छायाङ्कन, सुप्रिम पराजुली को सम्पादन र उत्तम न्यौपाने को साउन्ड डिजाइन रहेको यस फिल्मको डिजिटल वितरण मोशन पिक्चर्स ले सम्हालेको छ । हल वितरणको जिम्मा काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशन ले लिएको छ ।




































