गेरु वस्त्र, निधारमा खरानी र हातमा त्रिशूल हेर्दा साधु, तर भित्र कतै अकल्पनीय अँध्यारो लुकेको हुन सक्छ । यही असहज प्रश्न उठाउँदै फिल्म ‘शिवांश : च्याप्टर १’ ले आफ्नो ट्रेलरमार्फत दर्शकलाई रहस्य र भयको यात्रामा तान्छ । यहीँ महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गते रिलिज हुन लागेको यो फिल्म नेपाली सिने क्षेत्रमा कमै देखिने स्पिरिचुअल एक्सन ड्रामा जनराको सशक्त प्रस्तुति बनेर आएको छ । अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा बनेको ट्रेलरले सुरुदेखि नै असहज तर कौतुहलपूर्ण वातावरण सिर्जना गर्छ । अभिनेता प्रविण खतिवडा जोगीको भेषमा देखिए पनि उनको आँखामा देखिने उन्माद, हाउभाउ र संवादले ‘साधु’ भन्दा ‘खतरनाक पात्र’को आभास दिन्छ । बाहिर सादगी, भित्र हिंसा यही द्वन्द्व ट्रेलरको केन्द्रमा छ ।

ट्रेलरले कुनै दिव्य शक्ति र सिद्धि प्राप्त गर्ने उन्मादमा पात्र कसरी हत्या र विध्वंशतर्फ धकेलिन्छ भन्ने संकेत गर्छ । निर्देशक सन्तोष कुमार आत्रेय ले पौराणिक कथ्य र आधुनिक युगको थ्रिलरलाई एउटै क्यानभासमा मिसाउने साहसी प्रयास गरेका छन् । कथामा समुद्र मन्थन, त्यसबाट निस्किएको विष, रहस्यमयी शिला र पुस्तक जोडिँदा कथा अझै गहिरो र खतरनाक बन्दै जान्छ ।
एकातिर गुफा, मन्त्रोच्चारण र तान्त्रिक विधि छन् भने अर्कोतिर ल्यापटप, आधुनिक हतियार र प्रहरी अनुसन्धान यी दुई ध्रुवको टकरावले फिल्मलाई फरक स्वाद दिएको छ । “यो पुस्तकले विध्वंश निम्त्याउन सक्छ” भन्ने संवादले कथाभित्र ठूलो संकट लुकेको संकेत गर्छ ।

ट्रेलरको प्रभावलाई अझ शक्तिशाली बनाएको छ भारतीय चर्चित गायक कैलाश खेरको स्वर र संगीतले त्यस्तै पृष्ठभूमिमा बज्ने मन्त्रोच्चारण र रहस्यमय संगीतले आध्यात्मिक र थ्रिलर भाव एकसाथ अनुभूति गराउँछ । अञ्जान केसी कथा तथा निर्माता रहेको यस फिल्मको पटकथा बारत लिम्बूले लेखेका हुन् भने स्क्रिप्ट डक्टरको भूमिकामा सुलक्षण भारती छन् । फिल्ममा प्रविण खतिवडासँगै विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा लगायतको अभिनय रहेको छ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको, छायांकन सरद महतो, सम्पादन बनिश शाह, द्वन्द्व निर्देशन मिलन श्रेष्ठ र कोरियोग्राफी विक्रम चोहानले सम्हालेका छन् भने पौराणिक विषयवस्तुमा आधारित नेपाली फिल्मको अभाव खड्किरहेको समयमा, महाशिवरात्रिको अवसर पारेर आउन लागेको ‘शिवांश : च्याप्टर १’ रहस्य, आस्था र एक्सन मन पराउने दर्शकका लागि विशेष आकर्षण बन्न सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया